नेपालमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु, संक्रमित संख्या २८१ पुग्यो

काठमाडौं, ३ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धुलिखेलमा मृत्यु भएकी महिलामा कोभिड १९ संक्रमण पुष्टि भएको जनाएको छ। मन्त्रालयले जारी गरेको बुलेटिन अनुसार उनी सुत्केरी हुन् ।

मन्त्रालयका अनुसार शिक्षण अस्पतालमा २३ बैशाखमा भर्ना भएकी उनले २४ गते सामान्य प्रक्रियाबाट सन्तान जन्माएकी थिइन् । २५ बैशाखमा सिन्धुपाल्चोक घर गएकी उनमा श्वास प्रश्वासमा समस्या र ज्वरो आएपछि स्थानीय अस्पतालमा उपचार गरिएको थियो । स्वास्थ्य अवस्थामा सुधार नआएपछि उनलाई धुलिखेल अस्पताल ल्याँउदा बाटोमा मृत्यु भएको मन्त्रालयले जनाएको हो ।

धुलिखेल अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दोहोराएर गरिएको पीसीआर परीक्षण पोजिटिभ आएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोभिड संक्रमण तेस्रो चरणमा प्रवेश गरेको छ । नेपालमा कोरोना संक्रमित संख्या २८१ पुगेको छ ।

प्रहरीका अनुसार मृतक महिलाको घर र माइती लगायत उनको सम्पर्कमा आएका मानिसहरूको पहिचान गरिनुको साथै सो क्षेत्र सिल गरिएको छ ।