महाविपत्तिमा विपन्न पूर्वकमैयाका चुल्होमा आगो बाल्दैछन् दानवीर बिष्णु
कैलाली, ३ जेठ । धनगढी उपमहानगरपालिका १२ स्थित मनेहरा मुक्तकमैया शिविरका ४ अति विपन्न तथा बेसाहा परिवारले कोरोना महाविपत्तीको बेला भगवान नै प्राप्तको अनुभुती गरिरहेका छन् ।
कोराना भाइरस (कोभिड १९) को महामारीको महासंकटको बेला खाद्यान्न लत्ताकपडा र औषधी उपलब्ध गराउने दाता फेला परेपछि उनीहरुले नै भगवान प्राप्त भएको अनुभुती गरेका हुन् ।
धनगढी उपमहानगरपालिका ७ का विष्णु खनालले बन्दाबन्दीको बेला समस्यामा परेका वृद्धबृद्धा, अपांग र अनाथ गरी ४ मुक्तकमैया परिवारलाई यो बेला सहयोग गर्दै आएका छन् ।
खनाल ती मुक्तकमैयाको साइनो भने २०५७ देखिको हो । जुन साइनोले उनीहरुको जीवनमा संजीवनी बुटीको काम गरिरहेको हो ।
खनालले ती परिवारलाई बन्दाबन्दी अवधिमा कुनै कुराको अभाव हुन नदिने भन्दै सहयोग गरेको बताउँछन् । पहिलो चरणमा उनी दाल, चामल, नुन, तेल, खुर्सानी, साबुन, लत्ताकपडा र औषधी उपलब्ध गराएका छन् । दोस्रो चरणमा औषधी र खाद्यान्न उपलब्ध गराएको बताउदै उनले तेस्रो चरणमा पनि उनीलाई सकिएको सामग्री उपलब्ध गराई सकेको बताए ।

खनालले सहयोग गर्दै आएको परिवार मध्ये एक हुन्, ६४ वर्षिय आशाराम डगौरा थारु । उनी शारीरिक रुपले आपांग छन् । हिड्न सक्दैनन्। आँखा पनि देख्दैनन् ।
डंगौरा भन्छन्–‘छोरा मजदुरी गर्न भारत गएको ६ वर्ष वित्यो । १÷२ वर्ष सम्पर्कमै थियो । पैसा पनि पठाउँथ्यो । ४ वर्षयता सम्पर्कविहिन छ । म बेसाहारा छु ।’
डंगौराकी श्रीमती यही गएको पुसमा बितिन् । यसयता उनी घरमा एक्लो र बेसहारा भएका हुन् ।
‘मेरो लागि खाना छिमेकीको भान्सामा पाक्छ’, उनी पीडा पोख्छन्–‘यो संकटको बेला हामीलाई सहयोग गर्ने उहाँ मेरो लागि भगवान नै हो । आफ्नै छोराको सहयोग नपाएको यो बृद्ध अवस्थामा मैले अर्को छोरो पठाएको छु ।’

त्यस्तै शिविरका ६५ वर्षिय बेचन डगौरा र सुख्नी देवी डगौरा दम्पत्ति पनि खनालको सहयोगबाट एकदमै खुशी छन् । उनका ३ छोरा सबै आ–आफ्नो परिवार लिएर अलग भएपछि संकटमा परेपछि यतिबेला खनालको परोपकारी कदम सलाम योग्य बन्न पुगेको हो ।
बेचन र सुख्नीसंग ११ वर्षिय नाती छ । उनको माइली बुहारी विष सेवन गरेर आत्महत्या गरेपछि उनको माइलो छोरा अर्को विवाह गरेका छन् । माइलो छोराको पहिलो बुहारीबाट जन्मेको बच्चालाई उनीहरु आफु संगै राखेका हुन् ।
‘अरु बेला एकदमै गाह्रो भएको बेला छोराछोरी पनि सहयोग गर्छन् तर यो बेला उनीहरु पनि समस्यामा छन्’ सुख्नीले भनिन्–‘शिविरका हामी सबै मजदुरी गरेर खाने परिवार छौं । यो बेला (लकडाउन) भएको दुई महिना पुग्नै लाग्यो तर सरकारले यो शिविरमा एक पटक मात्रै राहत दिएको छ । त्यो राहत कति चल्ने हो र ? हामीलाई त खनाल छोराले चाहिएको सबै पुगाई दिएका छन् । हामी सरकारको राहत लिएका छैनौं ।’

शिविरका ६१ वर्षिय तेजुराम चौधरी पनि संकटको बेला खनालबाट सहयोग पाएको बताउँछन् । उनले आवश्यक सामाग्री खनालबाट सहयोग पाएपछि राज्यले दिएको राहत फिर्ता गरेका छन् । उनी भन्छन्–‘बरु हामी जस्तै गरिब परिवारलाई राहत दिनु भनेर नगरपालिकाले दिन लागेको राहत लिएका छैनौ ।’
खनालले मुक्तकमैया शिविरका एक जना बोल्न नसक्ने महिलालाई पनि सहयोग गर्दै आएका छन् ।
को हुन् विष्णु खनाल ?
कैलारी गाउँपालिका २ रामपुरमा जन्मेका विष्णु खनालका आमा बुवा गाउँमै खेती किसानी गर्छन् । उनी भने धनगढी उपमहानगरपालिका ७ मोती चौकमा बस्दै आएका छन् ।

२०५७ सालमा धनगढीका चित्रबहादुर कार्कीको पलटिंगमा ओजेटिभ गर्न जाँदा मुक्तकमैया आशाराम डगौरा कार्कीकै घरमा मजदुरी गर्थे । खनाल ओजेटिभ गरुनजेल डगौरासंग एकदमै घुलमिल भएको बताउँन् । उनी सन १९९८ मा भारतको मुइवइमा पाँचतारे एक होटलमा रिसेपसनिष्ट भएर काम गरेका थिए ।
त्यहाँ उनी होटल सम्बन्धी धेरै कम सिकेको बताउँछन् । सो अनुभवकै कारण उनी धनगढी आएर होटल डिभोटीमा आवद्ध भए । लगातार आठ वर्ष डिभोटीमा विताए उनी होटल साथी, होटल फ्लोरा हुँदै हाल हाम्रो घर टेम्पलमा आवद्ध छन् ।
सानैदेखि परोपकारी भावना भएका उनको २० वर्ष पछि बन्दाबन्दीकै क्रममा पुनः आशाराम डगौरासंग भेट भयो । उनी भन्छन्–‘मुलुकमा बन्दाबन्दी भएपछि म पनि केही असायहरुलाई सहयोग गर्न पाए हुन्थ्यो सोच्थे । मनेहरा शिविर गए । जहाँ आशाराम डगौरासंग भेट भयो ।’ उहाँहरुको दयनीय अवस्थामा केही सुधार होस् भनेर मैले आफूले गर्न सक्ने सहयोग गरेको हुँ ।’
आफु चिनजानको नाताले सहयोग नगरेको बताउने उनी बास्तविक राहत पाउनुपर्ने मान्छे छनौट गरेर सहयोग गरेको बताउँछन् । ४ वटा परिवार छनौट गरेर १६ जना सदस्यहरुलाई खुशी दिन पाउँदा आफु एकदमै सन्तुष्ट भएको खनाल बताउँछन् ।













