कैलारी गाउँपालिकामा दादुरा खोप सञ्चालन

हसुलिया, २ जेठ । कैलालीको कैलारी गाउँपालिकामा दादुरा रुबेलाको खोप सञ्चालन गरिएको छ ।

गाउँपालिकामा रहेका बालबालिकालाई जेठ १ गतेदेखि दादुरा रुबेलाको खोप दिइन थालेको हो । यसअघि, चैत १५ गतेदेखि सञ्चालन हुने सो खोप कार्यक्रम कोरोना भाइरसको कारण स्थगित गरिएको थियो ।

गाउँपालिकामा रहेका छ वटै स्वास्थ्य संस्थाबाट नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई दादुरा रुबेलाको खोप दिइरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र सापकोटाले जानकारी दिए । यसैगरी, जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई पोलियो थोपा पनि खुवाइदैछ ।

दादुराको खोप दिइने कार्यक्रम जेठ ४ गतेसम्म सञ्चालन हुने जनाइएको छ । स्वास्थ्यकर्मीले सामाजिक दूरी कायम गरेर खोप दिने कार्य गरिरहेको सापकोटाले जनाए ।

बालबालिकालाई खोप दिनका लागि हसुलिया स्वास्थ्य चौकीमा मेनुका चौधरी, भागरथी पनेरु, पवेरा स्वास्थ्य चौकीमा पार्वती चौधरी, नत्थु चौधरी, रतनपुर स्वास्थ्य चौकीमा सञ्जिव गुरुङ र बजारी चौधरी खटेका छन् । यस्तै, बसौटी स्वास्थ्य चौकीमा बालीचरण कठरिया, पुष्पा भट्ट, गदरिया स्वास्थ्य चौकीमा वीरबहादुर चौधरी, सरिता चौधरी र उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्जय महतो र सुनिता चौधरी खटेको जनाइएको छ ।

१२ जना स्वास्थ्यकर्मीसंगै खोप कार्यक्रमका लागि अरु सहयोगी स्टापलाई पनि खटाइएको स्वास्थ्य शाखा प्रमुख सापकोटाले बताए ।