दुई पत्रकार संक्रमित भएपछि वीरगञ्जमा सबै पत्रकारको स्वाब संकलन
पर्सा, ३१ वैशाख । पर्सामा दुई पत्रकारमा कोरोनाभाइरसको संक्रमण देखिएपछि सबै पत्रकारको परीक्षण गर्न थालिएको छ। परीक्षणका लागि उनीहरुको घाँटीको स्वाब संकलन गरिएको छ।
संक्रमितको सम्पर्कमा रहेकासहित सबै पत्रकारको नमूना संकलन गरिएको हो। बुधबार बिहान वीरगञ्जको नारायणी अस्पतालमा पुगेर १ सय २० जना पत्रकारले कोरोना जाँचका लागि स्वाब दिएका हुन्।
मंगलबार वीरगञ्जका दुई पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको थियो। दुवैलाई नारायणी अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिंदैछ।
महामारीका बीच समाचार संकलनमा निस्किने पत्रकारहरु विश्वभरिमै संक्रमणको उच्च जोखिममा देखिएका छन्। समाचार संकलनका क्रममा विभिन्न मानिसहरुलाई भेट्ने हुँदा आफ्नो सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्न पत्रकार सम्बद्ध संघसंस्थाले सजग पारिरहेका छन्। हिमालखबर













