उपभोक्ता समितिलाई गुणस्तरीय काम गर्न निर्देशन

हसुलिया, २९ वैशाख । कैलारी गाउँपालिकाको पूर्वाधार विकास समिति र प्राविधिकको टोलीले उपभोक्ता समितिलाई गुणस्तरीय काम गर्न निर्देशन दिएको छ ।समितिका संयोजक कलमप्रसाद चौधरीको नेतृत्वमा केही दिनदेखि निर्माणाधीन बाटोमा माटोको घनत्व जाँच गर्न सुरु गरेको टोलीले गुणस्तरीय काम नभएको पाएपछि सम्बन्धित उपभोक्ता समितिलाई गुणस्तरीय काम गर्न निर्देशन दिएको हो ।

सो टोलीले हिजो वडा नम्बर १, २, ४ र ५ मा बन्दै गरेका पाँच वटा सडकमा माटोको घनत्वसहित गुणस्तर जाँच गरेको थियो । यसैगरी, आज वडा नम्बर ६ र ८ मा चार वटा सडकमा माटोको घनत्व जाँच गरेको छ । यी छ वटै वडामा जाँच गरिएका सडकमा गुणस्तरीय काम नभएको पाइएको गाउँपालिकाका प्रवक्तासमेत रहेका समितिका संयोजक चौधरीले बताए । ‘ग्राभेल हालेर रोलरले कम पेलेको पाइएको छ’, उनले भने । ‘फेरि ग्राभेल हालेर रोलरले दबाउनका लागि सम्बन्धित उपभोक्ता समितिलाई निर्देशन दिएका छौं ।’

सो टोलीमा गाउँपालिकाका इञ्जिनीयर भरत चन्द, सव–इञ्जिनीयर गोविन्द रोकाया, ल्याब टेक्निसियन धनबहादुर बिष्ट, ओभरसियर सुनिल चौधरीसहित अरु प्राविधिकहरु सहभागी थिए । यसैगरी, वडा अध्यक्षहरु बालकृष्ण चौधरी, सन्तु चौधरी, भीखराम चौधरी, विष्णुप्रसाद चौधरी, प्रेम चौधरी र दुःखीराम कठरियाको पनि उपस्थिति रहेको थियो ।

जेठबाट दादुराको खोप लगाइने
यसैबीच, कैलारी गाउँपालिकामा जेठ १ गतेदेखि दादुरा रुबेलाको खोप लगाइने भएको छ । चैत १५ गतेदेखि सञ्चालन गरिने सो खोप कार्यक्रम कोरोना भाइरसका कारण स्थगित गरिएको थियो ।
जेठ १ गतेबाट दादुरा रुबेलाको खोप दिने कार्य पुनः सञ्चालन गर्ने तयारी गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक विरेन्द्र सापकोटाले जानकारी दिए ।