सुरक्षाकर्मीसंगै स्वयम् सेवकहरु पनि चौबिसै घण्टा सिमानामा परिचालित
हसुलिया, २७ वैशाख । कैलालीको कैलारी गाउँपालिकाले सिमानामा थप सुरक्षाका लागि स्वयम् सेवकलाई परिचालन गरेको छ । गाउँपालिकाले सिमानासंग जोडिएको वडाहरु ३, ५ र ७ का गाउँहरुमा स्वयम् सेवक दल गठन गरेर सुरक्षाका लागि परिचालन गरिएको हो ।
सिमानामा खटिएका सशस्त्र र नेपाल प्रहरीसंगै स्वयम् सेवकहरु चौबिसै घण्टा खट्ने गरेको गाउँपालिकाका प्रवक्ता कलमप्रसाद चौधरीले जानकारी दिए ।
उनका अनुसार कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम अभियानको क्रममा गाउँपालिकाको कार्यपालिका बैठकले स्वयम् सेवक दल गठन गरेर परिचालन गर्न सक्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सिमानासंग जोडिएका वडाका गाउँहरुमा २० जनासम्मको स्वमय् सेवक दल गठन गरेर परिचालन गरिएको हो ।
भारतबाट घुसपैठ हुँदा कोरोनाको जोखिम बढ्न सक्ने भएकाले सुरक्षा व्यवस्था थप मजबुत बनाउनका लागि स्वयम् सेवक परिचालन गरिएको प्रवक्ता चौधरीले स्पष्ट पारे ।
कैलारी गाउँपालिकातर्फ भारतको लखिमपुर जिल्ला पर्दछ । सो जिल्लालाई भारतले कम जोखिम भएको भन्दै ग्रीन जोनमा राखेको छ । उता लकडाउन खुकुलो भएमा भारतबाट यता घुसपैठ हुन सक्ने सम्भावना रहेको छ ।
त्यसैले सीमा नाकामा खटेका स्वयम् सेवकहरु रातिसमेत जाग्राम बस्ने गरेको स्थानीय फूलराज चौधरीले जानकारी दिए । ‘हामी सुरक्षाकर्मीलाई सघाउ पु¥याउने गरी रातभरि सिमानामा खटेर जाग्राम बस्ने गरेका छौं’ उनले भने ।
कैलालीमा भारतसंग नजिक र मोहना नदी पारि तीन वटा मोहनपुर, शिवरत्नपुर र हौसलपुर गाउँ रहेको छ । तीन वटै गाउँ कैलारी गाउँपालिकामा पर्दछ । भारततर्फबाट हुन सक्ने घुसपैठको हिसाबले सो क्षेत्र जोखिमयुक्त मानिएको छ । त्यहाँ सुरक्षाका लागि सुरक्षाकर्मी अहोरात्र खटिरहेका छन् । उनीहरु भोकप्याससमेत नभनेर सुरक्षाका लागि रातदिन तैनाथ रहेको जनाइएको छ ।













