बन्दाबन्दीको सहि सदुपयोग : थारू महिला हस्तकला सिपमा व्यस्त
कैलाली, २६ वैशाख । नेपालमा बन्दाबन्दी भएको ४६ औं दिन भईसकेको छ । यो बेला सबै फुर्सदिला छन् । सबैलाई समय कसरी विताउ भन्ने हुन्छ । यहि मौका छोपेर अधिकांश महिलाहरु हाते सिप तर्फ आकर्षित भएका छन् ।
कैलारी गाउँपालिका वडा नं. ८ दुधियाका रामकिस्नी चौधरी दिनभरी ढकिया बुन्ने गरेको बताउँछिन् । उनी भन्छिन् ‘बन्दाबन्दीका कारण दिनभरि फुर्सद हुन्छ, यो बेला ढकिया, नुइया, बेना (हाते पंखा) बन्ने गर्छु ।’
थारु समुदायमा छोरीको विहेमा ढकिया, नुइया, बेना (हाते पंखा) दाइजोकोरुपमा दिने चलन छ । किस्नी यो बेला बुनेको सामाग्री बटुलेर राख्ने गरेकी छिन् । त कि आवश्यक परेको बेला सहज होस् ।

यस्तै परिवार बाल गृह सञ्चालन गर्दै आएका सानु चौधरी दिनभरि स्वइटर, टोपी गमला बन्ने गरेकी छिन् । अरु बेला कामको चापाचापले फुर्सदै नपाउने उनी अहिले भने आफ्ना बाल गृहका बच्चाहरुको लागि उनका कपडा बुनिरहेकी छिन् ।
उनी भन्छिन् ‘बन्दाबन्दी खुल्ने वितिकै काम चापाचाप हुन्छ, अहिले एकदमै फुर्सद छ । यो बेला सबै बच्चा पुग्ने गरी उनका कपडा बुनिरहेकी छु ।’ बन्दाबन्दीमा उनी ६ वटा स्वइटर, १२ वटा टोपी र ४ वटा गमला बुनेकी बताउछिन् ।

उनीसंगै उनका सहेलीहरुपनि हाते बुनाई तर्फ आकर्षित छन् । उनी आफ्ना सहेलीहरुलाई आफ्नै कोठामा बोलाई डिजाईन सिकाई दिने गरेको बताउछिन् । कोरोना भाईरसको संक्रमण नहोस् भनि सामाजिक दूरी कायम राखेर मालती चौधरी, रेविका चौधरी, शिवकुमारी चौधरी र सपना सपना चौधरी पनि हस्तकलामा व्यस्त छन् ।
उता पुरुषहरु भने बन्दाबन्दीमा तास लेखेरै समय खेर फालिरहेका छन् । विहान उठेदेखि साँझा सम्म तासमै व्यस्त पुरुषहरु बन्दाबन्दीको बेला फरक अनुभव बटुल्न सकेका छैनन् ।













