कैलाली कञ्चनपुरमा लकडाउनको फाईदा उठाउदै काठ तस्करी
धनगढी, २३ बैशाख । लकडाउनको फाईदा उठाउदै कैलाली र कञ्चनपुरका वनबाट काठ तस्करी भईरहेको छ । कोरोना भाईरसको जोखिमलाई नियन्त्रण तथा रोकथाम गर्न सरकारले देशमा लकडाउन जारी गरेका बेला कैलाली र कञ्चनपुरका सामुदायिक तथा राष्ट्रिय वनमा चोरी तस्करी हुने क्रम बढेको हो । वन डिभिजन कार्यालय र सामुदायिक वनहरुको निश्क्रियाताको मौका छोप्दै तस्करहरुले सक्रियता बढाएका हुन ।
लकडाउनको समयमा वन क्षेत्रमा बढ्दै गएको तस्करीमा बृद्धि हुँदै गएका बेला नियन्त्रणमा लागि रहेको डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले बताए । ‘लकडाउनपछि मात्र कञ्चनपुरका राष्ट्रिय वनबाट तस्करीको एक सय ५० क्युफिट काठ बरामद गरिएको छ’, उनले भने, ‘विभिन्न सामुदायिक वनहरुबाट समेत ५० देखि ६० क्युफिट काठ मात्रै बरामद गरिएको छ ।’
अहिले वन क्षेत्रमा हुनसक्ने चोरी सिकारीलाई मध्यनजर गर्दै गस्ती टोली समेत परिचालन गरिएको अवस्थीको दावी छ । यता कैलालीमा समेत डिभिजन वन कार्यालय पहलमानपुर अन्तरगत पर्ने विभिन्न वनहरुबाट तस्कर भईरहेको अवस्थामा ६ सय क्युफिट भन्दा बढी काठ बरामद गरिएको छ । लकडाउनमा स्थानीयबासी सहित वनका कर्मचारीहरुको आवातजावात समेत रोकिएपछि तस्करी बढेको हो ।
अन्य समयमा पनि चोरी तस्करी नियन्त्रण हुन नसकेका बेला यो अवधीमा भने झनै बढेको देखिएको छ। वनले ठुलो क्षेत्रफल ओगटेको कैलालीमा झनै तस्करी बढेको छ । तरपनि वन क्षत्र संरक्षणमा संक्रियताका साथ लागेको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख कृष्ण भट्टले बताए । ‘लकडाउनको समयमा चोरी तस्करी नहोला भन्ने सोचेका थियौं’, उनले भने, ‘वन कर्मचारीसंगै स्थानीयको पनि आवातजावत रोकिएपनि कतिपय स्थानबाट काठ तस्करी भईरहेको छ ।’
विभिन्न ठाँउबाट तस्करी हुन लागेको काठ पनि करामद गरेको उनले बताए । वन कार्यालयहरुले नियमित रुपमा निगरानी संगै गस्ती गरिरहेको दावी गरेका बेला कैलाली र कञ्चनपुरमा रहेका राष्ट्रिय, साझेदारी तथा सामुदायिक वनहरुबाट काठ चोरी तस्करीलाई नियन्त्रण गर्न सकिएको छैन् । तर कैलालीकै डिभिजन वन कार्यालय धनगढीले समेत लकडाउनकै अवधीभर १५ सय क्युफिट काठ बरामद र आठ जनालाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कडेलले बताए ।
कैलाली कञ्चनपुरमा ठूलो मात्रमा रुख कटानी संगै तस्करी हुने गरेको भएपनि नियन्त्रण भने न्यून मात्रामा भईरहेको छ । लकडाउनको अवधीमा पनि वन कर्मचारी तथा समितका पदाधिकारीहरुकै संलग्नतामा तस्करी हुने गरेको आशंका गरिएको छ ।













