टीकापुर राजबन्दी परिवार राहतकोलागि सम्बन्धित निकायसंग गुहार

कैलाली, २२ वैशाख । बन्दाबन्दीमा टीकापुर राजबन्दी परिवारको घरमा चुलो बल्न मुस्किल भएको छ । उनीहरु राहतकोलागि संम्बन्धित निकायसंग गुहार मगरिरहेका छन् ।

टीकापुर नगरपालिका वडा नं. ४ का रामदया चौधरीको घरमा साँझा खानालाई केहीपनि नरहेको बताईन् । उनले भनिन् ‘बन्दाबन्दी भएको पहिलो हप्तामा सरकारले २५ केजी चामल, २ केजी दाल, नुन र तेल राहत दिएको थियो त्यही राहतले बाँचेका थियो । तर ती राहतपनि सबै सकियो ।’

पाँच जनाको परिवार छौं, उनले भनिन् ‘बन्दाबन्दी नभएको भए मजदुरी गर्न जान्थे । तर बन्दको कारण त्यो सम्भव छैन । बन्दाबन्दी खुलेको भए केही दिन छोराछोरी पनि मजदुरी गर्न जान्थे हातमा अलिकति पैसा हुन्थ्यो । अहिले त न हातमा पैसा छ, न घरमा खाद्यन्न ।

उनले पुनः थपिन् ‘मलाई त बन्दाबन्दी खुलेपनि गाह्रो छ, नखेलेपनि गाह्रो । खुलेपछि बच्चाहरुलाई स्कुल भर्ना, किताब कापी किन्नलाई धौधौ हुन्छ, बन्दाबन्दीमा भोको पेट भर्न धौधौ ।’ घरको मूली मान्छे टीकापुर घटनाको आरोपमा जेल जीवन विताईरहेका छन् । सबै जोहो आफैले गर्नुपरेको पीडा सुनाईन् ।

बन्दाबन्दी अवधी सम्मको लागि सरकारसंग दाल, चामल, तेल र नुन माग गर्दै छोराछोरीलाई मिठो मसिनो खुवाउन नसकेपनि भोको पेट त भर्ना सक्थ्यो नि उनले भनिन् ।

यस्तै पीडा सुनाईन् भजनी नगरपालिका वडा नं. ६ का रीमा चौधरी । उनी तीन दिनदेखि विरामी भएर थला परेको बताईन् । छिमेकीसंग दूई हजार रुपैयाँ सापती मागेर अस्पताल पुगेका रीमा सबै जाँच गर्दा पनि डाक्टरले केही रोग नदेखिएको बताईन् ।

उनकोपनि घरमा दुई छाककोलागि मात्रै चामल रहेको बताईन् । ‘घरमा न पैसा छ, न खाद्यन्न । छोरा परिक्षा सकेर नैनीताल मजदुरी गर्न गयो, त्यहाँ पुगे लगत्तै बन्दाबन्दीमा फस्यो । पेट पालुकी शरिरको औषधी गरौं, एकदमै समस्या छ ।’

यी त केवल पात्र मात्रै हुन् । यस्ता धेरै परिवारहरु भोको पेट लिएर राहतको लागि गुहार मागिरहेका छन् । सरकारले दोस्रो चरणको राहत प्याकेजबारे रणनीतिक योजना बनाउन जरुरी देखिन्छ ।