ग्राम विकास अनुसन्धान केन्द्रद्वारा कैलारी गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग
हसुलिया, २२ वैशाख । ग्राम विकास अनुसन्धान केन्द्र धनगढीले कैलारी गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
केन्द्रले सु्शासन परियोजना अन्तर्गत गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको हो । सो संस्थाले १२५ सेट सर्जिकल मास्क, १२५ थान सेनिटाइजर र १२५ थान ग्लोबल मास्क सहयोग गरेको गाउँपालिकाका कर्मचारी रविन्द्र चौधरीले जानकारी दिए ।
संस्थाका सुशासन परियोजना संयोजक ठाकुर करियाप्रधानले गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौवा र प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीलाई संयुक्त रुपमा स्वास्थ्य सामग्री हस्तान्तरण गरे । सो अवसरमा गाउँपालिकाका सामाजिक विकास शाखा अधिकृत यगम कलेल, योजना शाखा प्रमुख सन्तोषकुमार चौधरी, प्रहरी लगायतको उपस्थिति रहेको थियो ।
कैलारी गाउँपालिकामा स्थापना गरिएका क्वारेन्टाइन व्यवस्थापनका लागि विभिन्न स्वास्थ्य सामग्रीको खाँचो रहेको जनाइएको छ । सो गाउँपालिकामा तीन वटा क्वारेन्टाइन स्थापना गरिएको छ ।













