लकडाउन : थारु महिलाहरु घरघरै तरकारी बेचेर गुजारा
गुलरिया, २१ वैशाख । गुलरिया नगरपालिका ८ कोठिया गाउँकी राधा थारु एकाबिहानै आँखा मिच्दै बारीमा पुग्छिन् । बारीभरि लटरम्म फलेका काँक्रा, करेला, लौका, फर्सी, वोडी, टमाटर लगायतका हरिया ताजा तरकारी टिपेर छिटुवामा भरेसँगै उनको दिनचर्या सुरु हुन्छ । बारीबाट फर्किएर सरसफाइपछि घरघरमा तरकारी र्पुयाउनु उनको दैनिकी बेनेको छ । गाउँका अन्य महिला पनि छिटुवा टाउकोमा बोकेर राधासँगै टोलटोलमा तरकारी बेच्न निस्किन्छन् ।
विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड—१९) रोकथाम, नियन्त्रण तथा उपचारका लागि गरिएको लकडाउनमा बस्तीहरुमा तरकारी र्पुयाउन पाउँदा राधा खुशी छिन् । ‘लकडाउनले बजार बन्द छ बारीमा उत्पादन भएको हरियो र ताजा तरकारी घरघरमै पुगेर बेच्छु’, उनी भन्छिन्, ‘तरकारी बिक्रीले दैनिक घरको गुजारा चलेको छ । हाटबजार बन्द भएकाले तरकारी बेच्ने ठाउँ छैन । दुई घण्टा डुलेपछि सबै तरकारी बिक्छ । दैनिक १ हजार रुपैयाँ आम्दानी हुन्छ ।’
उनले तरकारी बेचेको पैसाबाट घरखर्च चलाउन सजिलो भएको बताइन् । तरकारी बेचेरै परिवारमा चुलो बल्दा राहतको लागि कसैको मुख ताक्नु नपरेको उनको भनाइ छ। ‘कोरोनाबाट बच्न सामाजिक दुरी कायम गर्दै कसैलाई तरकारी छान्न तथा छुन दिन्नन् ।’ सुरक्षाकर्मीहरुबाट पनि कुनै असजिलो नभएको उनको भनाइ छ । लकडाउनका कारण देशका विभिन्न ठाउँहरुमा करोडौं मूल्यको तरकारी बिक्री नभइ बारीमै सडेर गइरहेको अवस्थामा बर्दियाका शहरी क्षेत्रका बस्तीका कारण बजार वरपर उत्पादित हरिया तरकारी खपत भएका हुन् । घरघरै तरकारी बेच्न नहिँडे बारीमै सडेर जाने खतरा रहेको उनले बताइन् ।
छिमेकी सुजुनी थारु उनीसँगै तरकारी बेच्न आउँछिन् । ‘कोठिया गाउँबाट दैनिक १५÷२० जना किसान घरघरमै पुगेर हरियो तरकारी बेच्छौं’, सुजुनीले भनिन्, ‘तरकारी नबेच्ने हो भने घरव्यवहार टार्न मुस्किल हुन्छ । यही बेचेर घर खर्च चलेको छ ।’
गुलरिया नगरपालिका वार्ड नम्वर ६ निवासी भवानी श्रेष्ठ घरमै तरकारी किन्न पाउँदा धेरै खुशी छिन् । गेटमै छानेर ताजा तरकारी पाउँदा धेरै सजिलो भएको उनी बताउँछिन् । ‘महिलाहरु घरघरमै आएर तरकारी नबेच्ने हो भने तरकारी पाउन मुस्किल छ । हाटबजारकै मुल्यमा किसानहरुले घरमै तरकारी ल्याएका छन्।’
उनले एकातिर सुलभ र सहज रुपमा तरकारी पाएको बताउदै नेपाली किसानहरुका कारण सीमावर्ती भारतीय बजारबाट तरकारी नआए पनि स्थानीय उत्पादनले राम्रै बजार पाएको बताउछन् । अन्नपूर्णबाट













