भारतमा एकैदिन भेटिए २३९४ संक्रमित, बेलायत र नेदरल्याण्डमा निको हुनेको संख्या शून्य
कैलाली, २० वैशाख । भारतमा कोरोनाभाइरसको संक्रमण तिब्रगतिले बढिरहेको छ । त्यहाँ शुक्रबार एकैदिन २३ सय ९४ नयाँ संक्रमित भेटिएका थिए । एकैदिन संक्रमित भेटिएको भारतमा यो अहिलेसम्मकै ठूलो संख्या हो।
भारतमा कूल संक्रमितको संख्या ३७ हजार ३३६ पुगेको छ। त्यसमध्ये १० हजार सात जना निको भएका छन् भने १२ सय २३ जनाको मृत्यु भएको छ। अहिले संक्रमित २५ हजारभन्दा बढीको उपचारमा छन् ।
शुक्रबार सबैभन्दा बढी महाराष्ट्रमा एक हजार आठ जना नयाँ संक्रमित भेटिएका थिए। त्यस्तै गुरातमा ३२६, दिल्लीमा २२३, तमिलनाडुमा, २०३ र पंजाबमा १०५, राजस्थानमा ८२ नयाँ संक्रमित भेटिएका छन्।
नेपालसँग सीमा जोडिएका उत्तर प्रदेशमा कूल संक्रमितको संख्या २३ सय २८ पुगेको छ। पछिल्लो २४ घन्टामा त्यहाँ ११७ नयाँ संक्रमित भेटिएका छन्।
त्यस्तै पश्चिम बंगालमा ७९५, बिहारमा ४१ र उत्तराखण्डमा ५७ संक्रमित भेटिएका छन्। सिक्किममा भने अहिलेसम्म संक्रमित भेटिएका छैनन्। भारतमा २६ प्रदेश र ६ केन्द्र शासित क्षेत्रमा संक्रमण फैलिएको छ।
यस्तै कोरोना भाईरसले बेलायत र नेदरल्याण्डमा भने अहिले सम्म निको हुने विरामीको संख्या शून्य रहेको छ । बेलायतमा हाल सम्म १ लाख ७७ हजार ४५४ जना संक्रमित रहेका छन् भने २७ हजार ५१० जनाको मृत्यू भइसकेको छ । यस्तै नेदरल्याण्डमा ३९ हजार ७९१ जना संक्रमित रहेका छन् । यहाँ ४हजार ८९३ जनाको मृत्यू भईसकेको छ ।













