बन्दाबन्दी अबधिको सम्पूर्ण व्याज मिनाहा गर्न उद्योग वाणिज्य संघको आग्रह

धनगढी, १९ बैशाख । कैलाली उद्योग वाणिज्य संघले कोरोना रोकथामका लागि सरकारले जारी गरेको बन्दाबन्दीका कारण उद्योग, व्यापार क्षेत्र धराशायी भएकोले सो अबधिको सम्पूर्ण व्याज मिनाहा गर्न सरकारसंग आग्रह गरेको छ ।

कैलालीका उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा मार्फत शुक्रवार सरकारलाई बुझाएको ज्ञापन पत्रमा बन्दाबन्दीका कारण व्यापार व्यवसाय ठप्प रहेकोले व्यवसायीहरु व्याज तिर्न गाह्रो हुने भएकोले यो अबधिको सम्पूर्ण व्याज मिनाहा गर्न आग्रह गरिएको बताए ।

व्यवसायी बाँचे भने मात्र बैंकहरुले मुनाफा कमाउने हुन् । यतिबेला व्यापारव्यवसाय ठप्प हुदा व्यवसायीहरु निराश र हतोत्साही छन् । व्याज तिर्न सक्ने व्यवसायीहरुको अवस्था छैन । व्यवसायीहरुको यो अवस्थालाई बुझेर बन्दाबन्दी अबधिभरको सम्पूर्ण व्याज मिनाहा गरिदिन हुन प्रधानमन्त्रीलाई आग्रह गर्दर्छौ, संघका अध्यक्ष कुँवरद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा लेखिएको छ ।