मुक्त कमैया परिवारलाई राहत

हसुलिया, १७ वैशाख । बन्दाबन्दीका कारण समस्यामा परेका मुक्त कमैया परिवारलाई राहत वितरण गरिएको छ ।

मुक्त कमैया महिला विकास मञ्चको सहयोगमा कैलारी गाउँपालिकाले वडा नम्बर ५, ६ र ७ मा रहेको मुक्त कमैयालाई राहत वितरण गरेको हो । दुवै वडास्थित विभिन्न बस्तीका २३० परिवारलाई ६९ क्वीन्टल चामल राहत वितरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले मुक्त कमैयालाई राहत हस्तान्तरण गरेका थिए । प्रति घरपरिवारलाई ३० किलोग्राम चामल, तीन केजी दाल, दुई लिटर खाने तेल, दुई केजी नून वितरण गरिएको गाउँपालिकाका प्रवक्ता कमलप्रसाद चौधरीले जानकारी दिए ।

उनका अनुसार वडा नम्बर ५ स्थित सपनामुक्त कमैया शिविरका ४३, बन्दरगौडी कुमाल टोलका ३५ परिवारलाई राहत दिइएको छ । यसैगरी, वडा नम्बर ६ स्थित हिरापुर मुक्त कमैया बस्तीका २०, वडा नम्बर ७ स्थित विपतपुर मुक्त कमैया शिविरका ७० र मिलनपर मुक्त कमैया शिविरका ६२ परिवारलाई राहत दिइएको छ ।

मुक्त कमैया शिविरमा रहेका ३५ जना सुत्केरी र गर्भवती महिलालाई चना, भटमास, मकै र अण्डा पनि दिइएको जनाइएको छ । राहत वितरणको क्रममा गाउँपालिकाका कार्यपालिका सदस्य, वडा सदस्य, मुक्त कमैया महिला विकास मञ्चका अध्यक्ष कौशिला चौधरी लगायतको उपस्थिति रहेको थियो ।

दैनिक ज्यालादारीको काम गरेर खाने सीमान्तकृत मुक्त कमैया परिवार बन्दाबन्दीका कारण समस्यामा छन् । उनीहरु थप सहयोगको पर्खाइमा छन् ।