सामाजिक विकास सचेत समाजद्धारा पाँच थान पीपीई सहयोग
हसुलिया, १६ वैशाख । सामाजिक विकास सचेत समाज (सीएसएसडी) धनगढीले कैलारी गाउँपालिकाको कार्यालयलाई पाँच थान व्यक्तिगत सुरक्षा पोशाक (पीपीई) सहयोग गरेको छ ।
गाउँपालिकाको कार्यालयमा पर्याप्त मात्रामा पीपीई नहुँदा उत्पन्न समस्यालाई मध्यनजर गरेर सीएसएसडीले सहयोग गरेको हो । सो संस्थाका प्रतिनिधि मीना चौधरीले आज गाउँपालिकाका सामाजिक विकास अधिकृत यगम कलेललाई पीपीई हस्तान्तरण गरिन् । सो क्रममा सहायक सव–इञ्जिनीयर गोविन्द रोकायाको उपस्थिति रहेको थियो ।
स्वास्थ्य संस्था र क्वारेन्टाइन व्यवस्थापनका लागि गाउँपालिकाको कार्यालयलाई अझै केही सामग्रीको आवश्यकता रहेको छ । सेनिटाइजर १०० बोतल, सर्जिकल मास्क दुर्ई हजार थान, एन–९५ मास्क ५० थान आवश्यक रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक विरेन्द्र सापकोटाले जनाए ।
यस्तै, सर्जिकल र एक्जामिनेशन ग्लोब दुई/दुई हजार जोडा, युटीलिटी ग्लोब एक सय जोडा, भाइरेक्स पाउडर १०० प्याकेट, पीपीई १५ थान, सर्जिकल डिस्पोजेबल टोपी ५०० थान र इन्फ्रारेड थर्मामिटर पाँच थान आवश्यक रहेको उनले बताए । आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्नका लागि सापकोटाले सहयोगी हातहरुलाई अनुरोधसमेत गरेका छन् ।













