लकडाउनले कोरोना संक्रमण नियन्त्रण, निरन्तरता दिनुपर्ने समितिको राय
काठमाडौं, १३ वैशाख । उच्चस्तरीय समन्वय समितिले सरकारले गरेको लकडाउनको कारण कोरोना भाइरस (कोभिड(१९० नियन्त्रणमा रहेको निश्कर्ष निकालेको छ ।
लकडाउनकै कारण संक्रमण फैलिन नपाएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने समितिको राय छ । तर यसबारे औपचारिक निर्णय भने मन्त्रिपरिषद्ले गर्ने समिति संयोजक ईश्वर पोखरेलले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले १५ वैशाखपछि लकडाउन के गर्ने भन्ने विषयमा प्रस्ताव ल्याउन निर्देशन दिएपछि शनिबार उच्चस्तरीय समन्वय समितिको बैठक बसेको थियो । सिंहदरबारमा बसेको बैठकले लकडाउनलाई निरन्तरता दिने निष्कर्ष निकालेको छ ।
सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान मे १५ अर्थात् जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। छिमेकी भारतमा वैशाख २१ सम्म कडाउन घोषणा गरिएकोले त्यो भन्दा पहिले नै यहाँ लकडाउन खोल्दा खुला सिमा कारण थप जोखिम बढ्ने भएकोले सरकार लकडाउन थप्ने तयारीमा पुगेको छ ।













