सेती अस्पतालमा खोप सेवा शुरु, हप्ताको दुईदिन सेवा दिने
धनगढी, १३ बैशाख । सेती प्रादेशिक अस्पतालमा लकडाउनपछि बन्द रहेको खोप सेवा शुरु भएको छ । अस्पतालले हप्ताको दुईदिन सोमबार र शुक्रबार सेवा दिने जनाएको छ ।
खोप सेवा शुरु भएपछि शुक्रबार मात्रै १५२ जना बालबालिकाले सेवा लिएका थिए । अस्पतालले सूचना जारी गर्दै बालबालिकाहरूका लागि लगाइने विभिन्न खोपहरू हप्ताको दुई दिन सञ्चालन हुने जनाएपछि बालबालिका बोकेर अभिभावकहरु सेती प्रादेशिक अस्पताल पुगेका थिए ।
अस्पतालबाट हप्ताको दुईदिन सोमबार र शुक्रबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म खोप सेवा लिन सकिने सिनियर अनमी भगवती बडालले बताइन । उनले खोप सेवा शुरु भएपछि खोप सेवा लिन छुटेका गर्भवती र बालबालिकाहरुलाई अब नियमित खोप सेवा दिइने बताइन ।
त्यस्तै प्रत्येक हप्ता आइतबार र बुधबार बिहान ९ बजे देखि १ बजेसम्म नै गर्भवती तथा परामर्श र टिडी खोप सेवा समेत सञ्चालन हुने सिनियर अनमी बडालले जानकारी दिइन । यसअघि खोप सेवा बन्द हुँदा धेरै बालबालिका तथा गर्भवती आमाहरु खोप लगाउनबाट वञ्चित हुँदै आएका थिए।













