कैलारी गाउँपालिकाले अधुरा विकास निर्माणको योजनाका काम अगाडि बढाउने
कैलाली, १२ वैशाख । कोरोना भाइरस (कोभिड–१९) को जोखिमका कारण ठप्प भएका विकास निर्माणका कार्यलाई कैलारी गाउँपालिकाले अगाडि बढाउने निर्णय गरेको छ ।
आज बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाभित्र सञ्चालित सङ्घीय, प्रदेश र गाउँपालिकाकाका योजनाको काम कोरोनाबाट जोगिने उच्च सतर्कता अपनाएर अगाडि बढाउने निर्णय गरेको हो । त्यसको लागि सामाजिक दूरी कायम गर्ने र काम गर्ने मजदुरलाई मास्क, पञ्जा, सेनिटाइजर सम्बन्धित योजनाका ठेकेदारले व्यवस्था गर्ने निर्णय गरिएको छ ।
यसैगरी, चालू वर्षको कुनै पनि योजनाको काम गर्दा पाँचदेखि १० जनामात्रै मजदुर राख्न पाउने निर्णय भएको गाउँपालिकाका प्रवक्ता कमलप्रसाद चौधरीले जानकारी दिए । यसैगरी, योजना रहेको ठाउँ वा टोलका व्यक्तिलाईमात्रै मजदुरको रुपमा काम गराउन पाइने निर्णय गरिएको छ ।
‘कोरोना भाइरसबाट जोगिनका लागि नेपाल सरकारले अपनाएका सम्पूर्ण मापदण्ड अपनाएर चालू वर्षका अधुरा विकास निर्माणको योजनाका काम अगाडि बढाउने निर्णय भयो’, प्रवक्ता चौधरीले भने ।
गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीको अध्यक्षतामा बसकेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाभित्र उपलब्ध विकास निर्माणका सामग्री अधिकतम् खरिद गर्ने निर्णय गरेको छ । यस्तै, सिमेन्ट, सरिया, गिट्टी, बालुवा लगायतका सामग्री अन्य स्थानीय तहबाट ल्याउनु पर्ने भएकाले आपूर्तिका लागि सहज वातावरण बनाउन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्ने निर्णय गरेको छ ।
‘ढुवानीको वातावरण सहज बनाउनका लागि गाउँपालिकाले गरेको निर्णय हुबहु जिल्ला प्रशासन कार्यालयमा पठाउनेछौं’, प्रवक्ता चौधरीले भने ।
यसैगरी, दोस्रो चरणको राहत वितरण कार्य वडा अध्यक्षहरुको संयोजनमा वडा सदस्यहरुबाट गरिने निर्णय गरिएको छ । राहत वितरणको क्रममा कुनै विवाद आएमा सर्वदलीय बैठक बसेर विवाद समाधान गर्ने निर्णय भएको जनाइएको छ ।
यस्तै, किसानले गहुँ बिक्री गरेर धान खेतीका लागि आवश्यक कृषि सामग्रीको जोडजाम गर्ने बेला भएकाले त्यसबारे बैठकमा गम्भीर रुपमा छलफल गरिएको छ । किसानलाई आवश्यक पर्ने धान बीउको परिमाण विवरण पठाउन प्रदेशको कृषि मन्त्रालयबाट परिपत्र आएकाले प्रत्येक वडामा लगत लिने कार्य भइरहेको प्रवक्ता चौधरीले जानकारी दिए । उनका अनुसार किसानले माग गरे अनुसार मन्त्रालयले ५० प्रतिशत अनुदानमा कृषि ज्ञान केन्द्रमार्फत बीउ सहकारीलाई पठाउनेछ । त्यो बीउ किसानले गाउँपालिकाको कृषि शाखााको समन्वयमा ५० प्रतिशत अनुदानमा खरिद गर्नेछन् ।
यसैगरी, कृषि उपज र खाद्य वस्तु ढुवानीका लागि जिल्ला प्रशासन कार्यालयबाट पासको माग गर्ने गाउँ कार्यपालिकाको बैठकले निर्णय गरेको छ । यस्तै, कैलारी गाउँपालिकामा घर भइ रोजगारीको सिलसिलामा हाल जिल्ला वा मुलुक बाहिर रहेका व्यक्तिहरुको तथ्याङ्क संकलन गर्ने बैठकले निर्णय गरेको छ । ‘भोलिको दिनमा कसैलाई केही भएमा उद्धार कार्य वा एक्सन लिन सहज होस भनेर तथ्याङ्क सङ्कलन गर्ने निर्णय गरिएको हो’, प्रवक्ता चौधरीले भने ।
यस्तै, कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि दत्तचित्त भएर खटिरहेका कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गाउँ कार्यपालिकाको बैठकले गरेको छ । यसैगरी, कक्षा ८ बाहेक १ देखि ९ कक्षासम्मको परीक्षणा परिणाम अनलाइनमार्फत प्रकाशित गर्ने, थप नमूना विद्यालयको माग भएकाले माग भएको विद्यालयमा नमूना विद्यालय कार्यक्रम लागू गर्ने बैकठले निर्णय गरेको छ ।
बन्दाबन्दीको क्रममा घरेलु हिंसा हुन सक्ने अवस्थालाई मध्यनजर गरेर गाउँपालिकाभित्र सेफ हाउस बनाउन दिने निर्णयसमेत भएको प्रवक्ता चौधरीले जानकारी दिए । ‘हिंसा न्यूनीकरणको क्षेत्रमा काम गर्ने सामाजिक संघसंस्था छन् ।’, उनले थपे–‘त्यस्ता संस्थासंग सहाकार्रय गरेर यहाँ सेफ हाउस बनाउने निर्णय गरेका छौं ।’
गाउँ कार्यपालिकाको बैठकमा उपाध्यक्ष लक्ष्मी सत्गौंवा, वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।













