लकडाउन डायरी : घर भित्र मान्छेको डर, बाहिर कोरोनाको !
हामी अहिले लक डाउनमा छौं । नेपालमा लक डाउन भएको एक महिना पुग्यो । यो अवधिमा धेरैले भिन्न भिन्नै अनुभूतिहरु प्राप्त गरे होलान । अनुभूतिका बाबजुटपनि थुप्रै सिकाई भएको होला । धेरैको घरबार सप्रिएको होला त, कसैको नाता सम्बन्धमा दरारपनि परेको होला । यस्ता धेरै प्रश्नहरुको संगालो लिएर विहानी उडाउँछ ।
जब म सुतेर उठ्छु, अनि सररर दूई चार वटा अनलाइन हेर्छु । कस्ले के सामाचार पोष्ट गरेको छ । त्यसपछि आफ्नो दैनिकी तिर लाग्छु । हुन त अहिले विश्व नै कोरोना भाइरसको महामारीबाट प्रताडीत छ । विश्वकै अर्थतन्त्रमा ठूलो ढक्का पुगेको बेला नेपालको के कुरा गर्नु ! त्यसैले सबैलाई आर्थिकरुपले पनि संकट हुनु स्वभाविकै नै हो । धेरैलाई आज के खाने, भोली के खाने चिन्ता जागेकै छ । खाने कुरामा मात्रै कहाँ हो र ! हरेक व्यक्तिको स्वतन्त्रता माथि लकडाउन छ । जस्तो कि, को कहाँ जाने, के खाने, के लगाउने, के काम गर्ने आदी इत्यादी.. । यी पीडा सबैलाई एकनासको छ । चाहे त्यो महिला होस्, या पुरुष । अर्थात बालबालिका किन नहोस् । मुलुक नै बन्दाबन्दी भएकोबेला यस्तो पीडा हुनु स्वभाविकै हो । नभए त कोरोनाले सिंगो देशलाई नै संक्रमित बनाई दिन्छ ।
यी पीडा बाहिरबाट देखिने स्वरुप मात्रै हो । भित्रि यर्थात त अर्कै छ । कोरोनाबाट बच्न सबै भन्दा उत्तम उपाय घर भित्रै बस्नु हो । बाहिर निस्किनु हुदैन, सामाजिक दूरी कायम राख्नुपर्छ । एक व्यक्तिले अर्को व्यक्तिसंग हात मिलाउनु हुदैन । तर महिला तथा बालिकाहरुलाई त घर मित्रपनि सुरक्षा छैन ! उनीहरु कोरोनाको लडाई लड्ने, कि घर भित्रको ब्वाँसोसंगको लडाई । दोसाँधमा छन् महिलाहरु ।
कोरोना भाइरस (कोभिड–१९) ले हात मिलाउनु हुदैन, यो रोग सर्ने सबै भन्दा सजिलो माध्यम हात नै हो । तर यहाँ त हात मात्रै होईन जबरजस्त चुम्मन गरिन्छ महिला तथा बालिकाहरुलाई । एक अबोध बालिका, जो शौचालय जान पाउँदैन । उसलाई शौच गर्न दिनुको सत्ता बलात्कार गरिन्छ । यहाँका ब्वाँसोहरु त, मानसिकरुपले सुस्त भएकाहरुलाई पनि चिन्दैन् । सबैलाई आफ्नो सिकार देख्छन् । मुलुक बन्दाबन्दी भएपनि काम बोझ सबै महिलाकै थाप्लोमा । भान्छादेखि खेत सम्म । पुरुषहरु त, च्याट र तासमै मस्त छन् । बसी बसी भुडी अघाएकै छन् । तर महिलाहरु ! घाँस काट्न जाँदा घाँसको भारी लिएर आउँदैनन्, बरु बत्कारीले दिएको आँशुको भारी लिएर आउँछन् ! यहाँ त, छोराले आमा चिन्दैन, बाउले छोरी चिन्दैन । बस ! चिन्छ त केवल सिकार मात्रै ।
नेपालमा लकडाउन शुरु भएदेखि अर्थात चैत ११ गतेदेखि १ वैशाखसम्मको अवधिमा मात्रै ८६ वटा बलात्कार र ७२ घरेलु हिंसाका घटना प्रहरीमा दर्ता भईसकेका छन् । यो २१ दिनको अवधिका औसतमा प्रतिदिन ४ जना महिला तथा बालिका बलात्कारका सिकार भईरहेका छन् । यस्तै प्रतिदिन ३ जना महिला घरेलु हिंसा खेप्न बाध्य छन् । यो निकै दुखद सामाचार हो । प्रहरीको तथ्यांकअनुसार धेरैजसो बलात्कारका घटना आफन्त तथा छिमेकीबाट भईरहेकोछ । यो बेला धेरै बालिकाहरु बलात्कृत भईरहेको प्रहरीको भनाई छ । यो अवधिमा प्रदेश १, बागमती प्रदेश र प्रदेश ५ मा १६–१६ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएका छन् । प्रदेश २ मा १२, सुदूरपश्चिममा १०, कर्णालीमा ९ र गण्डकी प्रदेशमा ६ वटा घटना दर्ता भएको छ । यो अवधिमा काठमाडौं उपत्यकामा मात्रै पाँचवटा घटना दर्ता भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार माघमा देशभर बलात्कारका दुई सय र फागुनमा दुई सय ४६ घटना दर्ता भएका थिए । (नयाँ पत्रिका)
कैलाली जिल्लामा मात्रै जबर जस्ती करणी ३ जना र प्रयास १ जना को मुद्धा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीको अनुसार समान्य अवस्था भन्दा लकडाउनको बेला उजुरी कम आएपनि घटना भने रोकिएको छैन । प्रहरीको अनुसन्धानमा मान्छे सबै घर भित्र बसेकोले विबाहित महिलाहरु दोहोरो मारमा परेको बताउँछन् । यो बेला सबैले परिवारलाई बढि समय दिईरहेका छन्, खुशीको कुरा हो । तर दुखद् कुरा घर भित्रको काममा महिलाहरु सामान्य अवस्था भन्दा दोब्बर पिल्सिनु परेको छ । सामान्य अवस्थामा २ टाइम चिया पाक्ने ठाउँमा ४ टाईम पाक्दैछ । खाना नास्ता, घर सरसफाई लुगा कपडा धुने आदी सबै काम सामान्य अवस्था भन्दा दोब्बर गर्नुपरेको छ । जुन कारण महिलाहरु आफूमाथि कहि न कहि हिंसा भईरहेको अभाष गरिरहेका छन् ।
महिला अधिकार कर्मीहरुको भनाई अनुसार लकडाउनको बेला बैबाहिक बलात्कार एकदमै बढिरहेको बताउछन् । खैर, त्यो घटना भने बाहिर आएको छैन । यो बेला पुरुषहरु दिनभरि तास खेलेर वा मोबाईलमा ग्याम खेलेर समय विताईरहेका छन् । तर महिला घरयासीमा व्यस्त छिन् । महिलाहरु दिनभरीको थकान मेताउन पाएकी छैनन् । उनीहरुका श्रीमानहरु सामान्य अवस्थाको भन्दा धेरै गुना बढि यौन सम्बन्ध गर्न खोज्दैछन् । तर महिलाहरु भित्रि पीडा भुलेर बाहिर खुशी भएको नाटक गर्नुको विकल्प छैन ।
महिला स्वास्थ्य स्वयम सेविकाहरुको भनाई अनुसार बजारमा अस्थाई साधन ‘कण्डम’को अभाव भईसकेको बताउँछन् । जुन कारण धेरै महिलाहरु ईच्छा विपरित गर्भधारण हुने सम्भावना छ । यो बेला पुरुषहरुको मनस्थिति रात दिन यौन सम्बन्ध तर्फ केन्द्रीत छ । लकडाउन खुलेपछि गर्भपतन गर्नेको संख्या ह्वात्तै बढ्ने उनीहरुको दाबी छ ।
यी यावत समस्याले लकडाउनमा महिलाहरु आफूलाई घर भित्रपनि सुरक्षित महशुस गर्न पाएका छैन् । नेट इन्टर नेटमा पुरुषहरु छाडा म्यासेज पठाउनु, सामान्य गफ गाफमा पनि सेक्सको प्रस्ताव राख्नु, फेसबुक च्याटिंगमा अस्लिल तस्वीर पठाउने साथै केटीहरुसंग नांगो तस्वीर माग्ने आदि घटनाहरुपनि बढ्दै गएको देखिन्छ । तर लकडाउनको कारण प्रहरी कार्यालय सम्मा भने यस्ता घटनाहरु थोरै मात्रमा दर्ता भएका छन् । यो बेला सबैलाई आफ्नो ज्यान कसरी जोगाउँ भन्ने चिन्ता हुनुपर्ने बेला हिंसाको मानसिकता राख्ने मान्छेलाई पनि किन यस्तो सोच उत्पन्न हुदैन ।
यतिबेला हिंसा गर्ने व्यक्तिको मानसिकता झन् बलियो भएको देखिन्छ । यस्ता मानसिकता भएका व्यक्तिहरु मौकाको फाईदा उठाउन सक्छन् । त्यसैले हिंसामा बाँचिरहेका महिला तथा केटाकेटीका लागि यो समय थप कठिन छ। यो बेला सबै अभिभावकहरु आफ्नो परिवार बालबच्चाहरुको राम्रोसंग ख्याल गर्न जरुरी छ । साथै कसैले यौनको दृष्टिले हेर्यो या व्यवहार गर्यो भने न डराई हटलाइन नं. मा सम्पर्क गर्न होला । आफूपनि सुरक्षित बसौं अरुलाई पनि सुरक्षित राखौं ।













