बन्दाबन्दीलाई थप प्रभावकारी बनाउन सरोकारवालासंग छलफल

हसुलिया, ११ वैशाख । बन्दाबन्दीलाई थप प्रभावकारी बनाउनका लागि बिहीबार कैलारी गाउँपालिकामा सरोकारवालाबीच छलफल भएको छ ।

गाउँपालिका अध्यक्ष लाजुराम चौधरीसहितका सरोकारवालाको बैठकमा बन्दाबन्दीलाई पूर्ण रुपमा परिपालना गर्ने र विकास निर्माणको कार्यलाई पनि अगाडि बढाउने सवालमा छलफल गरिएको हो । गाउँपालिकामा निर्माणाधीन आयोजनाहरुको काम अगाडि बढाउनका लागि आवश्यक निर्माण सामग्री अन्य स्थानीय तहबाट ल्याउनु पर्ने भएकाले त्यसलाई के कसरी व्यवस्थापन गर्न सकिने विषयमा छलफल भएको थियो ।

सुरक्षा निकायसहितको जनप्रतिनिधिको छलफलमा नेपाल–भारत सीमामा सुरक्षा व्यवस्थापनलाई अझ चुस्तदुरुस्त बनाउने ठहर गरिएको छ । भारतले लकडाउन खुकुलो पार्ने वित्तिकै त्यहाँ रहेका नेपालीहरु चन्दनचौकी, बेलापरसुवा नाका लगायत चोर बाटो भएर आउँदा सुरक्षा चुनौती बढ्न सक्नेप्रति सजगसमेत गराइएको छ ।

‘भोलिका दिनमा त्यस्तो समस्या नआउला, भन्न सकिन्न’, गाउँपालिकाका प्रवक्ता कमलप्रसाद चौधरीले भने–‘त्यसैले भारतबाट आउनेलाई कसरी व्यवस्थापन गर्ने भन्ने सवालका साथै आवश्यक तयारी गर्ने बारेमा पनि छलफल भएको छ ।’

यसैगरी, किसानले गहुँ बिक्री गर्ने र धान खेतीका लागि आवश्यक कृषि सामग्रीको जोहो गर्ने समय पनि आइसकेकाले यस विषयमा पनि छलफल गरिएको छ । ‘हामीले हाललाई छलफलमात्रै ग¥यौं’, प्रवक्ता चौधरीले भने । ‘निर्णय भने गरेका छैनौं ।’

यस्तै, क्वारेन्टाइनमा रहेकाहरुको खानासहित उचित व्यवस्थापन लगायतको बारेमा पनि छलफल भएको छ । बाहिरबाट आएका सबै व्यक्ति सुरुमा क्वारेन्टाइनमा बस्न मानेका थिएनन् । अहिले सो गाउँपालिकाका १३६ जना व्यक्ति क्वारेन्टाइनमा छन् । १० जना क्वारेन्टाइनबाट घर फर्किसकेका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले जनाए । सो गाउँपालिकाले हसुलियास्थित दिपेन्द्र माध्यमिक विद्यालय, मंझरास्थित वनदेवी आधारभूत विद्यालय र बैजपुरस्थित सर्वोदय आधारभूत विद्यालयमा क्वारेन्टाइन स्थापना गरेको छ ।

बैठकमा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सापकोटा, योजना शाखा प्रमुख सन्तोषकुमार चौधरी, वडा अध्यक्षहरु कैलाश चौधरी, बालकृष्ण चौधरी, विष्णुप्रसाद चौधरी, इलाका प्रहरी कार्यालय हसुलिया, बीओपी भुईयाँफाँटा, खोनपुर र सीमा प्रहरी चौकीका प्रतिनिधिको उपस्थिति रहेको थियो ।