समाजवादी र राजपाको पार्टी एकता : झण्डा समाजवादीको, चुनाव चिह्न राजपाको
काठमाडौं, ११ वैशाख । समाजवादी र राष्ट्रिय जनता पार्टीबीच पार्टी एकताको सहमति भएको छ । नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने छ ।
बुधवार राति दुवै पार्टीका नेताहरूले पार्टी एकीकरण गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा समानताको आधारमा पार्टी एकीकरण गर्ने उल्लेख छ ।
नयाँ पार्टीको झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ । चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता हुनेछ ।
राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीको निवासमा भएको वार्तामा दुवै पार्टीका चार–चार जना नेताले हस्ताक्षर गरेका छन् ।
अहिले समाजवादीमा संघीय परिषदको अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव छन् भने राजपामा ६ जना अध्यक्ष मण्डलका सदस्य छन् ।
पार्टी एकताको सहमती पत्रमा समाजवादीबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले तथा राजपाको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरदसिंह भण्डारीले हस्ताक्षर गरेका छन् ।














