मोहनी बजारको पसलबाट विभिन्न सामान चोरीमा संलग्न एक युवक पक्राउ

धनगढी, १० बैशाख । कैलालीको मोहनी बजारमा रहेको पसलबाट एक लाख दुई हजार बराबरका विभिन्न सामान चोरीमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

गत चैत २० गते जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ८ पृथ्वीपुर मोहनी बजारमा रहेको रुभान फेन्सी पसल र बैशाख ४ गते सोही ठाउँको कबिर एण्ड राज ट्रेडर्सबाट चोरी गर्ने युवकलाई पक्राउ गरिएको हो।

चोरीमा संलग्न गौरीगंगा नगरपालिका १० को भगतपुरका २० वर्षीय केशब चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

चौधरीले रुभान फेन्सीबाट लुगा कपडा, नगद, चेक, पासबुक गरी अन्दाजी ५३ हजार सात सय ५० र कबिर एण्ड राज ट्रेडर्सबाट मोबाईल, राउटर गरी ४९ हजार १ सय ५० रुपैया बराबरको सामान चोरी गरेको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए।चोरी भएका सरसामान समेत बरामद गरीअनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।