दैलेख घर भएका मजदुरले राहत पाएपछि भने, ‘हाम्रा भगवान काठमाडौंमा पनि रहेछन्’

ललितपुर, ६ वैशाख । बन्दाबन्दीमा काम नपाएपछि भोकभोकै बस्न बाध्य मजदुरहरुले राहत पाएपछि भने, ‘हाम्रा भगवान त काठमाडौंमा रहेछन् ।’ दैलेख स्थायी घर भई राजधानीका विभिन्न इटा भट्टामा कार्यरत मजदुर, घर बनाउने काममा संलग्न मिस्त्री तथा मजदुर, उपचाररत बिरामी, विपन्न तथा वैदेशिक रोजगारीमा जान आएकाहरुले आज राहत पाएपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।

स्थायी बसोबास र कामको ठेगान नभएका उनीहरुलाई राहतको लागि कसैले सिफारिस नगरिदिएको अवस्थामा दैलेखबाट संघीय संसदमा समानुपातिक सांसद पार्वती विशुन्के र दैलेखी सेवा समाजका पदाधिकारीको सहयोगमा ५७ परिवारलाई राहत वितरण गरिएको हो ।

दैलेखबाट रोजगारी वा अरु कामका लागि राजधानी आएका, बन्दाबन्दी भएपछि समस्यामा परेका, खाद्यान्नको समस्या भएका मजदुर तथा विपन्नहरुको जिल्लाबाटै खोजी गरि आज उनीहरु भएकै ठाउँमा पुगेर राहत दिएको सांसद विशुन्केले बताइन् ।

समस्याको यो घडीमा जनप्रतिनिधिको हैसियतले समस्यामा परेकाहरुको खोजी गरेर थोरै भए पनि सहयोग गर्न पाएकोमा खुशी लागेको विशुल्केको भनाइ छ ।

सांसद विशुन्केसहित दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाही, सल्लाहकार नारायण अधिकारी, विनोद अधिकारी र विनोद शाहीले राहत सामग्री किनेका हुन् ।

राहत दिँदा चार जना परिवार हुनेलाई २५ किलो चामल, दाल, नुन, तेल र परिवारका सदस्य ५ भन्दा बढी हुनेलाई ५० किलो चामलसहित दाल, तेल र नुन सहयोग गरिएको सांसद विशुन्केले जानकारी दिइन् ।