रेडक्रस सोसाइटीद्वारा खाद्य सामग्री हस्तान्तरण
हसुलिया, ६ वैशाख । नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले आज कैलारी गाउँपालिकालाई खाद्य सामग्री हस्तान्तरण गरेको छ ।
बन्दाबन्दीमा समस्यामा परेका विपन्न परिवारलाई राहत वितरणका लागि रेडक्रसले साढे चार क्वीन्टल चामल, दाल ५० केजी, नून ५० प्याकेट, खाने तेल ३० लिटर र एक सय पिस साबुन उपलब्ध गराएको हो ।
रेडक्रसका प्रतिनिधिले कैलारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौवालाई खाद्य सामग्री हस्तान्तरण गरे । सो अवसरमा स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटा, योजना शाखा प्रमुख सन्तोषकुमार चौधरीको उपस्थिति रहेको थियो ।
उक्त राहत सामग्रीका लागि कैलारी गाउँपालिकाकै नेपाली काङ्ग्रेसका नेता राजसमझ चौधरीले सहयोग गरेको रेडक्रसले जानकारी दिएको छ । चौधरीले सहयोग गरेको सामग्री एकद्वार प्रणालीमार्फत वितरणका लागि गाउँपालिकालाई हस्तान्तरण गरिएको जनाइएको छ ।













