नेपालमा आमा छोरासहित एकै दिन १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३० पुग्‍यो

काठमाडौं, ५ वैशाख । भारतीय नागरिकसहित नेपालमा एकै दिन १४ कोरोना भाइरसका संक्रमित भेटिएका छन् । चितवनका आमा छोरासहित नयाँ १४ जनामा कोरोना संक्रमित भेटिएको छ ।

शुक्रबार उदयपुरमा १२ जना र चितवनमा दुई जनाका कोरोना संक्रमण पुष्टि भएको हो । उदयपुरका १२ संक्रमित मध्ये केही भारतीय रहेको बताइएको छ । ती सबै पुरूष हुन् ।

संक्रमितहरु उदयपुर नगरपालिका ३ स्थित भुल्केमा रहेको मस्जिदमा भेटिएका थिए । मस्जिदमा नयाँ मानिसहरु देखेपछि स्थानीयले खबर गरेका थिए ।स्थानीय प्रशासन र जनप्रतिनिधि गएर बुझ्दा दिल्लीबाट आएका १२ जना भारतीय नागरिक र मोरङबाट ४ जना नेपाली भेटेपछि परीक्षण गरिएको थियो ।

सुरुको र्‍यापिड टेष्टमा सबैको रिपोर्ट नेगेटिभ आयो भने कोशी अस्पतालमा बिहीबार साँझ गरिएको परीक्षणमा ८ जनामा ‘प्रिजम्टिभ पोजेटिभ’ देखियो । र, टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १२ जनामा संक्रमण पुष्टि भयो ।

यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनका आमा छोरा रहेको जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।