सामूहिक बलात्कारको आरोपमा पक्राउ परेकाहरुको अनुसन्धान सुरु
कैलाली, ४ वैशाख । कैलालीमा सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा पक्राउ परेका सबैको अनुसन्धान सुरु भएको छ ।
धनगढीकी १७ वर्षीया किशोरीलाई बैशाख १ गते राति आफन्तको घरबाट फर्किँदै गर्दा कैलालीको गौरीगङ्गा नगरपालिका १ को खुरखुरीयामा सामूहिक बलात्कार भएको जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो ।
जिल्ला प्रहरी कार्यलयले सामुहिक बलात्कारको अभियोगमा वैशाख २ गते चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका चारै जनालाई अदालतबाट १५ दिन म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।
सामूहिक बलात्कार गरेको अभियोगमा गौरीगङ्गा नगरपालिका ४ का नरेश नेपाली, अर्जुन सावद, निर्मल चौधरी र नरेश भट्टलाई प्रहरीले पक्राउ गरेको थियो ।
यस्तै कैलालीकै भजनी नगरपालिकाकी १५ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका जोशीपुर गाउँपालिका ४ लालपुर बाणीका रामकुमार चौधरी, मङ्गल चौधरी र सुरेशकुमार चौधरीलाई १० दिन थुनामा राख्ने अनुमति प्राप्त गरी अनुसन्धान भइरहेको पनि डीएसपी बस्नेतले जानकारी दिए ।













