काठमाडौँको सनसिटी बस्ने एकै परिवारका तीनजनामा कोरोना, अपार्टमेन्ट परिसरमा प्रहरी तैनाथ
काठमाडौं, १ वैशाख । काठमाडौँमा एकै परिवारको तीनजनामा कोरोनाभइरस संक्रमण भएको छ । काठमाडौँको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका उनीहरुलाई सोमबार र्यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको हो ।
अस्पतालका निर्देशक विष्णु शर्माका अनुसार तीनै जनालाई पाटन अस्पताल भर्ना गरिएको छ । उनीहरुको पीसीआर विधिबाट नमुना संकलनका लागि थ्रोट स्वाब लिइएको अस्पतालले बताएको छ ।
अपार्टमेन्टको ए ब्लकमा बसिरहेका उनीहरु २८ दिनअघि बेलायतबाट आएको खुलेको छ । उनीहरुमा लक्षण देखिएपछि र्यापिड टेष्ट गरिएको थियो । उनीहरु बेलायतबाट फर्केपछि क्वारेन्टाइनमा नबसेको बताइएको छ ।
प्रहरीले अर्पाटमेन्टमा मानिसहरुलाई भित्र बाहिर आवतजावत गर्न प्रतिबन्ध लगाएको छ । अपार्टमेन्ट परिसरमा प्रहरी तैनाथ गरिएको छ ।
यसअघि आजै कैलाली र रौतहटमा एकएक जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ । यो सँगै नेपालमा अब संक्रमितको संख्या १७ पुगेको छ ।













