रौतहटमा पनि भेटियो कोरोना संक्रमित

काठमाडौं, १ बैशाख । नेपालमा कोरोनाभाइरस (कोभिड-१९) संक्रमितको संख्या १४ पुगेको छ । स्वास्थ्य मन्त्रालयमा सोमवार आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।

पछिल्लोपटक कैलालीकी ६५ वर्षीया वृद्धा र रौतहटका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्वारेन्टाइनमा रहेका रौतहटका युवकमा परीक्षण गर्दा कोभिड-१९ पोजेटिभ पाइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ ।

यस्तै कैलालीकी ६५ वर्षीया वृद्धामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सोमवार दिउँसो गरिएको पुनः परीक्षणको नतिजा पनि पोजेटिभ आएपछि उनलाई आजै धनगढी ल्याएर आइसोलेसनमा राखिएको छ ।

प्रदेशगत रूपमा भन्दा सबैभन्दा बढी सुदूरपश्चिममा ५, प्रदेश २ मा ४, गण्डकीमा २ र बाग्मतीमा २ जना उपचाररत छन् । अर्का १ जना भने निको भएर फर्किसकेका छन् ।