पाठेघरको नली फुटेर ज्यान जोखिममा रहेका एक थारु महिलाको अप्रेशन सफल
धनगढी, ३० चैत । सेती प्रादेशिक अस्पतालमा शनिवार राति ८ बजे एक महिला पेट फुलेको भन्दै अस्पताल पुगिन । उनलाई त्यहाँ लिएर आउने एक बृद्ध महिला थिईन । र उनका साथमा दुई बालबालिका थिए ।
थारु समुदायकी ती महिलाको साथमा पुरुष आफन्त थिएनन । उनी हिड्डुल गर्न सक्ने अवस्थामा थिईनन । तर डाक्टरले औषधी लेखीदिएपछि किनेर ल्याईदिने पनि कोही थिएन । महिलाले भने दिशा नखुलेकी बताएकी थिईन ।
चिकित्सकहरुले उनको अवस्था हेरे । पाठेघरको नली फुटेर पेटभित्र फैलिएको रगतले उनको पेट फुलेको थियो ।
उनको ज्यान अत्यन्त जोखिममा थियो । राति १२ बजे स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डा. खगेन्द्र भट्टको नेतृत्वमा बेहोस गर्ने डा. कपिल गौतम, सर्जन डा.रोजी शर्मा लगायत सहित चार जना चिकित्सक,दुई जना नर्सको टीम अप्रेशस शुरु भयो । अप्रेशन गर्ने क्रममा जव महिलाको पाठेघरको अवस्था देखेपछि चिकित्सकहरु पनि हैरान भए । यद्दिप उनीहरुले हिम्मत हारेनन ।
डा. भट्टले महिलाको पाठेघरको नली फुटेर पेटभित्र अढाई लिटर रगत जमेको र पाठेघरमा रहनु पर्ने गर्भ अण्ड बाहिनी नलीमा रहेको बताए । ती महिलाको शरीरमा रगत निकै कम भईसकेको थियो ।
झण्डै ६ घण्टाको प्रयासपछि अप्रेशन त सफल भयो । तर महिलामा स्वास प्रश्वासमा समस्या भयो । सघन उपचारमा लैजान आईसियु थिएन । भेन्टिलेटर पनि थिएन ।

त्यसपछि चिकित्सकहरुले प्रसुती वार्डको अप्रेशन थियटरको भेन्टिलेटरलाई निकालेर आईसियु वार्डमा लगेर जोडे ।
र ती महिलालाई त्यहाँ सिफ्ट गरे । भेन्टिलेटरको यो जुगाडपछि भने ती महिलाको अवस्था क्रमशः सामान्य हुदै गयो । करीव पौने तीन बजेतिर डा. भट्टसंग पश्चिम टुडेले ती महिलाको स्वास्थ्य अवस्थाका सम्बन्धमा जिज्ञासा राख्दा उनले महिलाको अवस्था खतरामुक्त भएको बताए । र स्वास्थ्य अवस्थामा सुधार भईरहेको बताए ।
उनका लागि एक पीन्ट रगत जोहो गर्ने साथमा कोही व्यक्ति थिएनन । अप्रेशनमै खटिएका चिकित्सकहरुले ६ पीट रगतको व्यवस्थापन गरे । अहिलेसम्म ६ पिन्ट रगत चढाईसक्यौ, डा. भट्टले भने, अझै रगत चढाउनु पर्ने अवस्था छ ।
नेपाल सरकारले कोरोना अस्पताल घोषणा गरेसंगै सेती प्रादेशिक अस्पतालमा संक्रमितहरुको उपचार हुन थालेपछि चिकित्सक तथा उपचाररत अन्य बिरामीहरुहरु पनि कोरोना संक्रमणको उच्च जोखिममा छन् । प्रसुती वार्डसंगै जोडिएको कोठामा कोरोनाका संक्रमितहरु राखिएका छन् । तर त्यही छेउमा आफै जोखिममा रहेका चिकित्सकहरु मृत्युको मुखबाट असहाय महिलालाई जोगाउन निरन्तर रुपमा खटिरहेका छन् ।
यसरी पछिल्लो एक सातामा दुई महिलाको ज्यान जोगाएको डा. भट्टले बताए । काम गरेपनि प्रचार नगरेका कारण सेती प्रादेशिक अस्पतालका चिकित्सकहरुले संक्रमण फैलिएयता थुप्रै गर्भवती महिलाको ज्यान जोगाएका छन् ।
केही दिन अघि गर्भमै बच्चाको मृत्यु भएपछि अस्पताल ल्याइएकी एक महिलाको यसैगरी सेती प्रादेशिक अस्पतालका चिकित्सकहरुले ज्यान जोगाएका थिए । पश्चिम टुडेबाट सभार













