संकटको बेला ट्रम्पको आदेश ! नेपाल सहित विदेशी नागरिक फिर्ता नभए देश निकाल गर्ने
काठमाडौँ, ३० चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी नागरिकलाई कोरोनाको उपचार गर्न नसकिने संकेत गरेका छन् । उनले फिर्ता नलिने देशका नागरिकलाई अमेरिकाको सार्वजनिक स्वास्थ्य सेवा दिन नसकिने एउटा आदेश पत्रमा हस्ताक्षर गरेका छन् ।
अप्रिल १० मा ह्वाइट हाउसले जारी गरेको ‘भिजा’ सम्बन्धी नयाँ आदेशमा यस्तो सङ्केत गरिएको हो । नयाँ नियम अनुसार अमेरिकाले आफ्नो नागरिक फिर्ता लैजान भनेको खण्डमा कुनै पनि मुलुकले सात दिनभित्रमा उनीहरूलाई फिर्ता लगिसक्नु पर्नेछ ।
“अमेरिकाबाट आफ्ना नागरिकलाई फिर्ता लैजान अटेर वा बिना कारण ढिलाइ गर्ने देशहरूका नागरिकले अमेरिकामा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट अमेरिकीहरूको सार्वजनिक स्वास्थ्यमा स्वीकार गर्न नसकिने खालका जोखिम थपिरहेका छन्” सो आदेश पत्रमा भनिएको छ ।
तीन बुँदे सो आदेशमा अमेरिकाले त्यहाँ सुरक्षा जोखिम बढाउन सक्ने जो कोहीलाई देश निकाला गर्ने समेत उल्लेख गरेको छ । कोरोनाभाइरसको महामारी फैलिरहेको बेला ट्रम्पको सो आदेश कोरोना संक्रमित विदेशी नागरिकलाई स्वास्थ्य सेवा नदिन जारी गरिएको रुपमा हेरिएको छ । कुनै बेला पनि ट्रम्पले सो आदेश कार्यान्वयन गर्न सकिने बताइएको छ ।
अमेरिकी विदेश मन्त्रालयलाई त्यस खालका कुनै पनि सूचना प्राप्त भएको खण्डमा बिना कुनै ढिलाइ सात दिनमा उनीहरूको भिजा अवधि समाप्त गर्न र देश निकाला गर्न भनिएको छ ।
उक्त आदेश पत्रमा आफ्ना नागरिक फिर्ता लिन कुनै देशले आनाकानी वा ढिलाइ गरेमा त्यो कुनैपनि हालतमा स्वीकार नहुने स्पष्ट पारिएको छ । ट्रम्पद्वारा हस्ताक्षरित विज्ञप्तिमा यो नयाँ नियम कम्तीमा ३१ डिसेम्बर २०२० सम्म लागु हुने पनि भनिएको छ । स्रोत: अनलाईन डबली














