कोरोना अपडेट : भारतमा एकै दिन ५० जनाको मृत्यु

धनगढी, ३० चैत । कोरोना महामारीबाट भारतमा एक दिनमै ५० जनाको मृत्यु भएको छ। विश्व तथ्यांकका अनुसार भारतमा कोरोना महामारीबाट मृत्यु हुनेको संख्या २८९ पुगेको छ।

संक्रमित संख्या आठ हजार ५०४ पुगेका जनाएको छ । कोरोना महामारी भारतभर फैलिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिन लामो बन्दाबन्दी घोषणा गरेका छन्। यसबाहेक बढी प्रभावित राज्यहरु महाराष्ट्र, पञ्जाब र तेलंगनाले बन्दाबन्दी थप गरिसकेको छ ।

अन्य राज्यहरुले पनि बन्दाबन्दी थप्ने तयारी गरिरहेका छन् भने देशव्यापी बन्दाबन्दी थप्न भारत सरकारले तयारी गरेको छ। महामारी शुरु भएको चीनमा भने लगभग नियन्त्रणमा आइसकेको छ । गएको २४ घण्टामा चीनमा ९९ जना संक्रमित थपिएका छन् ।

तर, यूरोपेली मुलुकहरु र अमेरिकामा भने कोरोना तीव्र गतिमा फैलिरहेको छ। यो महामारी रोकथामका लागि अधिकांश राज्यमा बन्दाबन्दी घोषणा गरिएको छ।

अमेरिकामा महामारीबाट मृत्यु हुनेको संख्या २० हजार ५८०, दोस्रोमा इटाली रहेको छ । इटालीमा १९ हजार ४६८ , स्पेनमा १६ हजार ६०६, फ्रान्समा १३ हजार ८३२ जनाको मृत्यु भएको छ।

आइतबार दिउसोसम्म विश्वभर मृत्यु हुनेको संख्या एक लाख नौ हजार २८८ पुगेको छ। कोरोना भाइरसबाट १७ लाख ८७ हजार ०६९ संक्रमित भएका छन् भने ४ लाख ०६ हजारर १०९ सञ्चो भइसकेका छन् ।