सहकारी र साझेदारी वन समूहद्वारा दैनिक उपभोग्य वस्तु सहयोग
हसुलिया, २९ चैत । कोरोना भाइरसको संक्रमण रोकथाम गर्न आह्वान गरिएको लकडाउनका कारण उत्पन्न समस्या समाधानका लागि कैलारी गाउँपालिकालाई विभिन्न निकायबाट सहयोग प्राप्त भइरहेको छ ।
खास गरेर मजदुरी गरेर गुजारा गर्ने परिवारलाई समस्या भएपछि राहत वितरणका लागि गाउँपालिकालाई विभिन्न निकायले सहयोग गर्न थालेका हुन । यसैक्रममा किसान सहकारी बहुमद्देश्यीय सहकारी संस्था लिमिटेड र धनगढी उपमहानगरपालिका–१४ मा रहेको भारताल साझेदारी वन व्यवस्थापन समूहले आज खाद्यान्न लगायत विभिन्न दैनिक उपभोग्य वस्तु गाउँपालिकालाई हस्तान्तरण गरेका छन् ।
किसान सहकारीले चार सय किलोग्राम चामल, ५० केजी नून, २५/२५ केजी मास र अरहरको दाल, एक कार्टुन खाने तेल सहयोग गरेको छ । यसैगरी, एक/एक थान ग्यास सिलिण्डर, चुलो, रेगुलेटर, पाइप लगायत अन्य विभिन्न सामग्री सो सहकारीले सहयोग गरेको छ ।
सहकारीका विभागीय प्रमुख प्रकाश जिसीले गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी र प्रवक्ता कलमप्रसाद चौधरीलाई सो सामग्री हस्तान्तरण गरे ।
यसैगरी, भारताल साझेदारी वन व्यवस्थापन समूहले ४०० किलोग्राम चामल, मिक्स दाल ४० किलो, खानेतेल २० लिटर, नून ४० किलो र साबुन ४० वटा गाउँपालिकालाई सहयोग गरेको छ । समूहका संयोजक यादवप्रसाद भण्डारीले गाउँपालिकाका अध्यक्ष चौधरीलाई सो सामग्री हस्तान्तरण गरे ।
पवेरामा किटनाशक विषादी छर्कियो
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिनका लागि कैलारी गाउँपालिका–५ स्थित पवेरामा आज किटनाशक विषादी छर्किएको छ ।
गाउँपालिकाको कार्यालयलाई विभिन्न सहयोगी निकायबाट प्राप्त भएको विषादी वडा नम्बर ५ को वडा कार्यालयमार्फत पवेरा बजार, वडा कार्यालय आसपास र चेतनशील कृषि सहकारी संस्थाको आसपासमा छर्किएको हो ।
वडा कार्यालयलाई प्राप्त भएको विषादी वडा अध्यक्ष विष्णुप्रसाद चौधरीको स्वीकृतिमा छरिएको स्थानीय शंकर चौधरीले जानकारी दिएका छन् ।













