लकडाउनको मौकामा अपराध बढ्दो, काठ तस्करदेखि सुन चोरी गर्ने पक्राउ
कैलाली, २७ । लकडाउनको मौका छोपी आपराधिक गतिविधिले प्रश्रय पाएको छ । जिल्लाको कतिपय सामुदायिक वनबाट लकडाउनकै अवधिमा काठ तस्करी हुँदै आएका घटना जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक भएको ।
कोरोनाको महामारीप्रति सबै निकायको ध्यान केन्द्रित भएको बेला यस्तो आपराधिक गतिविधि भइरहेको पाइएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीले घरमा अवैध काठ चिरान तथा तस्करीमा संलग्नलाई पक्राउ गरेको बताइएको छ । गोदावरी नगरपालिका–१२ हलौडेका स्थानीय नरीबहादुर साउँदलाई चैत २६ गते घरमा अवैध चिरान काठ तथा काठका गोलिया लुकाइछिपाई राखेको अवस्थामा पक्राउ गरेको प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

प्रहरीले उनको घरबाट चिरान कडी, चौपटा, सिल्ली, ३ थान गोलिया लगायत गरी १२१ क्युफिट काठ बरामद भएको जानकारी दिए । नरी साउँदलाई थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय धनगढीको जिम्मा लगाइएको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालय अगाडि रहेको धनगढी उपमहानगरपालिका–१ का विनोदकुमार बर्माले सञ्चालन गरेको प्रिया सुनचाँदी गहना पसलमा बुधवार राति चोरी भयो । प्रहरीको अनुसन्धान टोलीले चोरिएका सामानसहित संलग्नलाई पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए ।

उनका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ स्थित कारागार रोड बस्ने ४५ वर्षीय पप्पु गुप्ता र उनको छोरा वर्ष २० वर्षीय पवन गुप्तालाई नियन्त्रणमा लिएको छ । चोरी गरेको सामान घरको छतमा रहेको पानीको ड्रममा लुकाएका थिए । यसअघि पनि पप्पु गुप्ताले लागूऔषध, सार्वजनिक अपराध मुद्दा खेपिसकेका छन् ।













