बन्दाबन्दीमा लैंगिक हिंसा बढ्यो– महिला आयोग
ललितपुर, २५ चैत । काठमाडौंको गोकर्णेश्वरबाट केही दिन अघि एक महिलाले राष्ट्रिय महिला आयोगको फोनमा भनिन्, ‘मेरो ज्यान जोखिममा छ । उद्धार गर्नु पर्यो ।’ आयोगले संचालन गरेको पैंसा नलाग्ने ९टोल फ्री० नम्बर ११४५ मा फोन गरेकी उनले लकडाउन पछि श्रीमान् २४ सै घण्टा घरमा बस्दा रातदिन कुटपिट हुन थालेको गुनासो गरिन् ।
आयोगका कर्मचारीले घरमा बस्नै नसक्ने अवस्था भए उद्धार गर्छौं र सुरक्षित आवास गृहमा राख्छौं भने । तर आफूमाथि भइरहेको हिंसाबाट जोगिन सहयोग मागेकी उनले सुरक्षित आवास गृहमा बस्न मानिनन् । आफ्नो मिल्ने साथी नजिकै भएकाले उसैसंग बस्छु भनिन् ।
‘प्रहरीसंग सहकार्य गरेर उहाँको उद्धार गर्ने सोचमा थियौं’ निरन्तर कुराकानी भईरहेको थियो । उहाँले केही दिन साथीकोमा बस्छु भन्नु भो’ राष्ट्रिय महिला आयोगका प्राविधिक सल्लाहकार पलिता थापाले महिला खबरसंग भनिन्, ‘अहिले पनि उहाँ हाम्रो सम्पर्कमा हुनुहुन्छ । सुरक्षित हुनुहुन्छ ।’
कोरोना भाइरस ९कोभिड १९० को संक्रमण रोक्न नेपाल सरकारले यही चैत्र ११ गतेदेखि बन्दाबन्दी ९लकडाउन० गरेपछि राष्ट्रिय महिला आयोगमा उजुरी दिन भौतिक रुपमा पीडित आउन सकेका छैनन् । तर आयोगको टोल फ्री नम्बरमा भने गुनासो आउने क्रम बढेको छ ।
बन्दाबन्दी शुरु भएपछि काठमाडौं जिल्ला बाहिरबाट पनि फोनमा गुनासो र उजुरी आइरहेका छन् । गत हप्ता जिल्लाबाट एक महिलाले फोनमा सुनाइन््, ‘अहिले रात दिन श्रीमान् घरमै हुँदा कुटपिट र हिंसा बढ्यो । आयोगले कसरी सहयोग गर्न सक्छ रु’
लकडाउन शुरु भएपछि यो दुई हप्ताको अवधिमा ९मार्च २४ देखि ५ अप्रिलसम्म आयोगमा ७८ जना महिलाले आफूमाथि भएको हिंसाको उजुरी गरेका छन् । थापाका अनुसार उजुरी गर्नेमा ६५ जनामाथि घरेलु हिंसा भएको छ भने १३ जनामाथि सामाजिक हिंसा लगायत अन्य हिंसा भएको छ ।
उजुरी गर्ने मध्ये मानसिक रुपमा विक्षिप्त अवस्थामा रहेका २२ जनालाई आयोगले फोनमै मनोसामाजिक सेवा दिइरहेको छ ।
लैंगिक हिंसाविरुद्ध उजुरीको यो तथ्यांक अरु बेलाको भन्दा बढी हो । अरु बेला हिंसाविरुद्ध उजुरी गर्ने निकाय खुल्ला हुने र व्यक्ति भौतिक रुपमा उपस्थित भएर उजुरी गर्थे । तर अहिले आयोगको कार्यालयमा सिधै आउन नमिल्ने अवस्थामा पनि यति धेरै उजुरी आउनु लकडाउनमा हिंसा बढेको प्रमाण हो भन्छिन्, प्राविधिक सल्लाहकार थापा ।
लकडाउनमा महिला हिंसाका घटना बढ्ने र उनीहरुलाई जतिसुकै बेला सहयोग आवश्यक हुन सक्ने भन्दै आयोगले टोल फ्रि नम्बरको सेवा पनि लम्ब्याएको थापाले बताइन् ।
विगतमा विहान १० देखि ५ बजेसम्म चल्ने यो फोनमा अहिले विहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म उजुरी गर्न मिल्ने उनले बताइन् । महिला खबरबाट













