मल्टि युथ र हिमशिखर युवा क्बलद्वारा खाद्यान्न सहयोग
धनगढी, २४ गते । विपन्न परिवारलाई राहत वितरणका लागि मल्टि युथ र हिमशिखर युवा क्बलले कैलारी गाउँपालिकालाई खाद्यान्न हस्तान्तरण गरेका छन् ।
दुवै क्लबले संयुक्त रुपमा १२ क्वीन्टल चामल, डेढ सय लिटर खाने तेल र पाँच बोरा नून आज गाउँपालिकालाई हस्तान्तरण गरेका हुन । मल्टि युथ क्बलका उपाध्यक्ष सुरेश चौधरी र हिमशिखर युवा क्लब हसुलियाका अध्यक्ष सुनील चौधरीले गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीलाई सो खाद्यान्न हस्तान्तरण गरे ।
गत माघमा हसुलियामा आयोजना गरिएको थारु सांस्कृतिक महोत्सव तथा खेलकुद प्रतियोगितामा मल्टी युथ क्लबले प्रथम पुरस्कार प्राप्त गरेको थियो । पुरस्कार वाफत पाएको रकमले खाद्यान्न खरिद गरेर विपन्न परिवारलाई राहत वितरणका लागि सहयोग गरेको मल्टी युथ क्लबका अध्यक्ष पञ्चराम चौधरीले जानकारी दिएका छन् ।
सहयोग हस्तान्तरण अवसरमा गाउँपालिकाका प्रवक्ता कमलप्रसाद चौधरी, वडा नम्बर ३ का अध्यक्ष लाजुराम चौधरी, योजना शाखा प्रमुख सन्तोषकुमार चौधरी लगायतको उपस्थिति रहेको थियो ।
कैलारी गाउँपालिकामा वडा नम्बर ४ बाहेक राहत प्राप्त गर्ने घरधुरीको संख्या ९५९ रहेको छ । यसैबीच, सो गाउँपालिकाको वडा नम्बर ८ को कार्यालयले आज विपन्न परिवारलाई राहत वितरण गरेको छ । मजदुरी गरेर गुजारा गर्दै आएका परिवारलाई लकडाउनका कारण जोहो गर्न समस्या भएपछि गाउँपालिकाले राहत दिने निर्णय गरेको थियो ।













