भारतमा कोरोना संक्रमित ४२ सय नाघे, २४ घण्टामै ७०१ नयाँ संक्रमित थपिए
कैलाली, २४ चैत । भारतमा कोरोना भाइरस (कोभिड(१९) को महामारी लगातार बढिरहेको छ। सोमबार विहानसम्म ४ हजार २ सय ८९ जना संक्रमित भइसकेका छन्। बितेको २४ घण्टामै ७ सय ०१ जना नयाँ संक्रमित थपिएका छन्। यसले त्यहाँ कोरोनाको कहर संकटको अवस्थामा रहेको देखाएको छ।
संक्रमितमध्ये हालसम्म ११८ जनाको मृत्यु भएको छ। भने ३ सय २८ जना उपचारपछि सञ्चो भएका छन् । कोरोना भाइरसको संक्रमण रोकथामका लागि भारतमा ११ चैतदेखि २१ दिन बन्दाबन्दी (लकडाउन) लागू गरिएको छ, जुन १४ अप्रिल (३ वैशाख) सम्म कायम रहनेछ। भारत सरकारले बन्दाबन्दी २१ दिनभन्दा बढी नलम्ब्याउने संकेत गरेको छ।
यसअघि भारतीय स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लव अग्रवालले दिल्लीमा हालै तबलिगी जमात (धार्मिक सभा) का कारण संक्रमण फैलिने दर बढेको बताएका थिए। यस कारण संक्रमित बिरामीको संख्या कम समयमै दोब्बर भयो।
हाल विश्वमा १२ लाख ७३ हजार ८१० जना कोरोना संक्रमित भएका छन् भने ६९ हजार ४५९ जनाले ज्याज गुमाई सकेका छन् । यस्तै कोरोना संक्रमित विरामीहरु २ लाख ६४ हजार ७६१ जना उपचारपछि सञ्चो भएको विश्व तथ्यांकले जनाएको छ ।













