लकडाउनको अवधि बढाउने सुदूरपश्चिम सरकारकाे निर्णय
धनगढी, २३ चैत । सुदूरपश्चिम प्रदेश सरकारले लकडाउनको अवधि बढाउन संघीय सरकारसँग माग गरेको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको ‘कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा समन्वय निर्देशक समिति’ को बैठकले लकडाउनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन कडाइका साथ लागू गर्ने निर्णय समेत गरेको छ ।
बैठकपछि प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री तथा प्रबक्ता प्रकाशबहादुर शाहले भारत र अन्य देशहरुबाट फर्केकाहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने निर्णय गरेको बताए । उनले कोरानाको रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनका लागि आवश्यक पर्ने औषधि, उपकरण, आवश्यक सामग्री तथा विज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि पनि केन्द्र सरकारसँग माग बताए ।
सुदूरपश्चिममा थप तीन जना कोरोना संक्रमित भेटिएसँगै तातेको प्रदेश सरकारले प्रदेश अन्र्तगतका प्रादेशिक तथा जिल्ला अस्पतालमा कोभिड–१९ को उपचार तथा व्यवस्थापन गर्न चिकित्सक सहितको मेडिकल स्वास्थ्य टोली निर्माण गरी तयारी अवस्थामा राख्ने, एम्बुलेन्स तथा शव बाहनको व्यवस्था तम्तयार गर्ने निर्णय समेत गरेको छ ।
यसैबीच मुख्यमन्त्री त्रिचोचन भट्टले प्रदेशबासीलाई सम्बोधन गरेका छ्न । उनले कोरोनाभाइरस रोकथाम र नियन्त्रणको लागि प्रदेश सरकार जुटेको बताए । उनले सेती प्रादेशिक अस्पताललाई कोरोना विशेष अस्पतालको घोषणा गरी त्यहीअनुसारको बजेट र उपकरण उपलब्ध गराइएको बताए । सीमा क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकलाई नेपाल भित्र्याउन भारत सरकारसँग छलफल गर्न केन्द्र सरकारलाई अनुरोध गरेका छन् ।
प्रदेशभित्र कोभिड १९ को उच्च जोखिम देखिएपछि सुदूरपश्चिम प्रदेश सरकारले विदेशबाट फर्केर क्वारेन्टाइनमा बसिरहेका सबैलाई २१ दिनसम्म क्वारेन्टाइनमै राख्न निर्देशन दिएको छ।













