कैलारी गाउँपालिकाको सात वटा वडामा विपन्न परिवारलाई राहत
धनगढी, २३ चैत । कैलारी गाउँपालिकामा रहेका विपन्न परिवारलाई राहत वितरण गरिएको छ । वडा नम्बर ४ र ८ बाहेक बाँकी सबै वडामा रहेका विपन्न परिवारलाई वडा कार्यालयमार्फत आज राहत वितरण गरिएको हो ।
वडा नम्बर १ मा १२० परिवार, वडा नम्बर २ मा १५६, वडा नम्बर ३ मा २०४ घरपरिवारलाई राहत वितरण गरिएको छ । यसैगरी, वडा नम्बर ५ मा ४३ घरपरिवार, वडा नम्बर ६ मा ६७, वडा नबर ७ मा ७३ र वडा नम्बर ९ मा १४० घरपरिवारलाई राहत वितरण गरिएको सम्बन्धित वडाका वडा अध्यक्षले जानकारी दिएका छन् ।
वडा नम्बर ८ मा भने खाने तेल नपुगेकाले त्यहाँ आज राहत वितरण नगरेको वडा अध्यक्ष दुःखीराम कठरियाले जानकारी दिए । उनले भोलि राहत वितरण गर्ने बताए । यसैगरी, वडा नम्बर ४ मा विपन्न परिवारको तथ्याङ्क रुजु गर्न बाँकी रहेकाले राहत वितरण नगरिएको जनाइएको छ ।
सो गाउँपालिकामा वडा नम्बर ४ बाहेक राहत प्राप्त गर्ने परिवारको संख्या ९५९ परिवार रहेको थियो । गाउँपालिकाले एउटा निश्चित मापदण्ड तयार पारेर राहत वितरण गरेको प्रवक्ता कमलप्रसाद चौधरीले जानकारी दिए । लकडाउनका कारण काम गर्न नपाउँदा दैनिक गुजारा गर्न समस्या परेका परिवारलाई राहत वितरण गर्ने गाउँपालिकाले निर्णय गरेको थियो । उनीहरुलाई खाद्यान्न, नून, तेल दिइएको छ ।
वडामा भएको राहत वितरण कार्यमा सम्बन्धित वडा अध्यक्षहरु बालकृष्ण चौधरी, सन्तु चौधरी, कैलाश चौधरी, विष्णुप्रसाद चौधरी, प्रेम चौधरी, कमलप्रसाद चौधरी र खेमराज चौधरीको उपस्थिति रहेको थियो ।













