सञ्चारकर्मीका लागि विशेष प्याकेज ल्याउन महासंघको माग

कैलाली, २२ चैत । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले प्रदेश सरकारसँग सञ्चारकर्मीहरुका विशेष प्याकेजको माग गरेको छ ।

महासचिव योगेश रावलद्वारा हस्ताक्षरित विज्ञप्तीमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी झैं फ्रन्टलाइनरका रुपमा रहेको सञ्चार क्षेत्रको सुरक्षा तथा महामारी रोकथामको टास्कमा सञ्चारमाध्यमको परिचालन गर्न नीति तथा योजना सहितको विशेष प्याकेज ल्याउन माग गरिएको छ ।

विश्वव्यापी महामारीको प्रकोप र लकडाउनको कठिन अवस्थाको अत्याधिक जोखिममा रहेर समाचार संकलन तथा सम्प्रेषण गरी आमनागरिकलाई सुसुचित गरिरहेका विज्ञेप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ– यस कार्यमा सुदूरपश्चिमका रेडियो, छापा, अनलाईन र टेलिभिजनकर्मीहरु अहोरात्र खटिएर कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको अवस्थाबारे आमनागरिकसमक्ष प्रवाह गरिरहेका छन । सुदूरपश्चिममा महामारी नियन्त्रण तथा रोकथामको मुल नेतृत्व गरिरहेको प्रदेश सरकारले जोखिमबाट बच्नकोलागि आमसञ्चार क्षेत्रलाई अझ सशक्त र योजनावद्ध रुपमा उपयोग गर्न जरुरी रहेको विज्ञप्तीमा लेखिएको छ ।

यस महाविपत्तिमा स्वास्थ्यकर्मीहरु आफ्नो ज्यानको प्रवाह नराखी विरामीको उपचार भईरहेको ठाउँमा खटिएका छन् । साथै विश्वव्यापी अभ्यास र नतिजाअनुसार लकडाउनलाई कडाई गर्नुको विकल्प छैन । सबै नागरिकले सरकारको नियम पालना गर्नुपर्छ ।