एनआइसी एसिया बैंकद्वारा गाउँपालिकालाई खाद्यान्न हस्तान्तरण

धनगढी, २२ चैत । विपन्न परिवारलाई राहत वितरणका लागि एनआइसी एसिया बैंकले कैलारी गाउँपालिकालाई खाद्यान्न हस्तान्तरण गरेको छ ।
बैंकले ६२५ किलोग्राम चामल, १२५ केजी दाल, ५० लिटर खानेतेल र ५० प्याकेट नून विपन्न परिवारलाई वितरणका लागि सहयोग गरेको हो । सो बैंकले आज विहान गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीलाई खाद्यान्न हस्तान्तरण गरेको हो ।

गाउँपालिकामा रहेका दैनिक ज्यालादारीको काम गरी गुजारा गर्दै आएका परिवारलाई आजैबाट राहत वितरणको कार्य सुरु गरिने गाउँपालिकाका प्रवक्ता कमलप्रसाद चौधरीले जानकारी दिए । ‘राहत सामग्री आजै सम्पूर्ण वडाहरुमा पठाउँदैछौं’, उनले भने ।

सो गाउँपालिकामा वडा नम्बर ४ बाहेक बाँकी सबै वडामा ९६० परिवारलाई राहत वितरण गरिने जनाइएको छ । वडा नम्बर ४ मा भने राहत आवश्यक पर्ने परिवारको तथ्याङ्क रुजु गर्न बाँकी रहेको प्रवक्ता चौधरीले जानकारी दिए ।