आजदेखि खाद्य पसल पनि बन्द, अत्यावश्यकीय सामान घुम्ती सेवाबाट प्रदान गरिने

धनगढी, २१ चैत । कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि कैलालीमा स्थानीय प्रशासनले आजदेखि लकडाउनमा थप कडाई गर्ने खाद्य पसल पनि बन्द गर्ने जनाएको छ ।

कोही बाहिर ननिस्कने भनेर लक डाउनको गरिएको हो । तर स्थानीय प्रशासनले लक डाउन शुरु भएयता झण्डै ८ सय मोटरसाईकल नियन्त्रणमा लिईसकेको छ ।

गाडीका पासहरु खारेज गरिसकेको प्रशासनले स्थानीय सरकार र व्यवसायीहरुसंगको छलफलपछि आजदेखि खाद्य पसलहरु समेत बन्द गर्ने तयारी गरेको छ ।

धनगढी उपमहानगरपालिकाको अगुवाईमा धनगढीमा रहेका पसलहरु पूर्ण रुपमा बन्द गर्ने र अत्यावश्यकीय सामानहरु घुम्ती सेवा मार्फत घरघरमा पु¥याउने तयारी भईरहेको छ ।

लक डाउनको अर्थ जो जहाँ छ, त्यस्तै अवस्थामा बस्ने भन्ने हो । दिनभरी घरभित्र बसेरसाँझ सडकमा निस्किने हो भने लकडाउनको के औचित्य नगर प्रमुख वडले भने । उनले कोरोनाको संक्रमणबाट जोगिन लकडाउनलाई प्रभावकारी बनाउनु बाहेक कुनै उपाय छैन ।

केही न केही बहाना बनाएर मान्छेहरु बाहिर निस्किने क्रम रोकिएन । खल्तीमा दुई ट्याब्लेट हालेर अस्पताल गएको भन्नेहरु पनि भेटिए । अव औषधी पसलमा पनि सर्वसाधारणलाई आउन रोक लगाउदैछौ, उनले भने, कसैलाई औषधी आवश्यक परे घरमै उपलब्ध गराउने व्यवस्था गर्छौ । तर घर बाहिर निस्किन दिदैनौ ।

आज घुम्ती पसलको मोडालिटी तय हुदैछ । मोडालिटी तय गरी त्यसको सञ्चालनका लागि टीम परिचालन गरिनेछ । त्यो टीमलाई प्रहरीले सहयोग गर्नेछ । घुम्ती पसल सञ्चालनमा आएपछि संभवत भोलिदेखि धनगढीमा कुनै पसल, सपिङ सेन्टर सञ्चालनमा आदैन ।

सेती अञ्चल अस्पतालका पूर्व मेडिकल सुपरीटेण्डेट डा. गणेश बहादुर सिंहले हालको स्वास्थ्य क्षेत्रको अवस्था, क्षमता र तयारी रोकथामको उपचार र संक्रमण रोक्न सक्ने अवस्थामा नरहेकोले लकडाउनलाई प्रभावकारी बनाउनु बाहेक अर्को बिकल्प नभएको बताए । हामीसंग एउटै उपाय छ । घरबाट बाहिर ननिस्किनु ।