मुख्य मन्त्री ज्यू ! सुदूरपश्चिमबासी कोरोनाबाट कति सुरक्षित छन् ?
सरकारले सबै सीमा नाका बन्द गरेको १० दिन पुगिसक्यो । कोराना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि सीमा नाका औपचारिकरुपले बन्द छ नै । तर लुकेर आउने र प्रशासनले सुविधासहित भित्र्याउने क्रम निर्वाध रुपमा भने चलिरहेको छ । सरकारले गत चैत ११ गते भारतबाट फर्केर गौरीफन्टा नाकामा रोकिएका १ हजार नेपालीलाई अन्तिम पटकको लागि भन्दै प्रवेश दिएको थियो । तर सुदूरपश्चिम प्रदेशस्थित विभिन्न सीमा नाका हुँदै भित्रिने क्रम दिनहुँ जारी नै छ ।
कैलालीको गौरीफन्टा, कञ्चनपुरको गद्दाचौकी, दार्चुलाको झुलाघाटलगायत सीमा नाका भएर हरेक दिन आउने जानेक्रम जारी छ । सरकारले सबै व्यक्ति घर भित्रै सुरक्षित भएर बस्न सिंगो देशलाई नै लक डाउन गर्यो । लक डाउन भनेको जो जहाँ छ, त्यही सुरक्षित बस्ने भनेको हो । तर हामी नेपाली न हौं ! अहिले त पुरै काम बन्द छ । अफिस पसल व्यापार सबै । हामीलाई कोरोना चाडपर्व आए जस्तो छ । हुल बाँधेर गाउँ जानलाई तछाडमछाड गरिरहेका छौं । धेरैले त पास पनि मागे । मानौ यो बन्द कुनै पार्टीले आफ्ना माग सुनुवाईको लागि गरेको हो ।
अस्ती भर्खरै सीमा नाका बन्द भएपनि भारतमा रहेका ६८ जना नेपाली जंगलको बाटो हुँदै लुकेरै नेपाल प्रवेश गरे । भारतको पलियाबाट पैदल हिँडेर धनगढी पुगेका उनीहरूलाई प्रहरीले मोहना नदीको घाटबाट नियन्त्रणमा लिएको थियो । पछि प्रशासनले गाडीको व्यवस्था गर्दै उनीहरूकै थातथलो र्पुयायो । उनीहरुलाई कोरोना छ छैन भनेर सामान्य जाँच गरेर सकुशल घर फर्कायो । कसरी विश्वस्त हुन सकेको सरकार ? नाका प्रवेश गरेकाहरुमा कोरोना संक्रमण छैन भनेर !
धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले नियन्त्रणपछि धनगढीका १२ जनालाई क्वारेन्टाइनमा राखिएको र बाँकीलाई सम्बन्धित स्थानीय तह तथा सम्बन्धित जिल्लामा पठाएको जानकारी गराए । गौरीफन्टा नाका भएर बाँके जिल्लाका १५, डोटीका ४, बाजुराका १३, बैतडीका १, अछामका १ र डडेल्धुराका १ जनालाई सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा राख्ने गरी पठाइयो । तर ति मध्ये कति जना क्वारेन्टाईनमा बसे सरकारसंग कुनै तथ्यांक छ ? ती व्यक्ति सम्बन्धित निकायको सम्पर्कमा छन् कि छैन् । उसरी त सुदूरपश्चिममा मात्रै १३ हजार भन्जदा बढी भारतको विभिन्न ठाउँमा नेपाल फर्केका छन् ।
सरकारले सुदूरपश्चिमबासीलाई कोरोनाबाट सुरक्षित राख्न ती १३ हजार जनाकै स्वाब परिक्षण गर्नुपर्ने थियो । यसरी सबै जनाको स्वाबपछि बल्ल थहाँ हुन्थ्यो कि सुदूरपश्चिमबासी कति सुरक्षित छन् । र कति जोखिममा छन् । तर यासो हुन सकेन । जुन कारण कोरोना सबैको मनलाई त्रसित बनायो । यी यावद कारणले सरकारलाई कार्ययोजना बनाउनमा सकस भईरहेको छ । त्यसैले मेरो प्रश्न, मुख्य मन्त्री ज्यू !सुदूरपश्चिमबासी कोरोनाबाट कति सुरक्षित छन् भनिदिनु न । अहिले त हजुरपनि होम क्वारेन्टाईनमै हुनुहुन्छ जस्तो छ । सबैले हजुर कहाँ हराउनु भयो भन्ने प्रश्न आईरहेको छ ।
विश्वमा बुधबार सम्म विश्वमा बुधबार सम्म ८ लाख ८४ हजार १९० जना संक्रमित भईसके । ४४ हजार १६९ को मृत्यू भई सक्यो तर नेपालमा भने जम्म १ हजार १३३ जनाको मात्रै परिक्षण गरिएको छ । यो तथ्यांकले हामी कहाँ छौं भन्ने कुरा पुष्टि गरिरहेको छ । अहिलेपनि हामीसंग केही समय बाँकी नै छ । कनकी नेपाल अरु देश भन्दा कम जोखिममा रहेको तथ्यांकले देखाईरहेको छ । तर सरकारले अब कुनै लापरवाही नगरी सबै नागरिकको स्वास्थ्य परिक्षण गर्न जरुरी देखिन्छ । त की लक डाउन गरेर भगवान भरोसामा छोड्न काम बन्द होस् ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले सीमा बन्द र लक–डाउन उल्लंघन भन्दा पनि सीमामा अलपत्र परेकाहरूको समस्यालाई मध्यनजर गरी व्यवस्थापन गर्दै आएका छन् । उनीहरु विभिन्न ठाउँबाट आफ्नो घर जानलाई सीमा सम्म आएका हुन् । उनीहरूको पनि बाध्यतालाई ध्यान दिनैपर्छ तर उनीहरूको घर रहेको सम्बन्धित स्थानीय तहले उनीहरूलाई क्वारेन्टाइन राखेर जाँच चाहिँ गरिनुपर्छ । सीमामा रोकेर समस्या समाधान हुन सक्दैन ।
भारतको धार्चुलाबाट दार्चुला प्रवेश गर्ने क्रम पनि दिनहुँ हुँदै आएको छ । १ हप्ताको अवधिमा प्रशासन र जनप्रतिनिधिको सक्रियतामा पटक–पटक प्रवेश दिइएको छ । जुनक्रम जारी रहेको पाइएको छ । धार्चुलामा अझै पनि करीब साढे ३०० बढी नेपाली शुक्रवारदेखि नेपाल प्रवेशको आशामा बसेका छन् । दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुुनाथ पौडेलले दार्चुला र धार्चुला जोड्ने पुलघाट बन्द रहेको बताउँदै रोकिएका नेपालीलाई प्रवेश गराउन गृह मन्त्रालयसँग पहल जारी राखेका छन् । आइतवार साँझसम्म उनीहरूलाई प्रवेश गराउने प्रशासनको तयारी थियो तर गृह मन्त्रालयबाट आदेश नआउँदा उनीहरूको लागि खानाको व्यवस्था पारी नै गरिएको छ ।
भारतको पिथौरागढका विभिन्न क्षेत्रमा काम गरेर फर्किएका उनीहरू धार्चुलामा अलपत्र छन् । अलपत्र परेका नेपालीलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने गरी व्यवस्था मिलाउने, गाडीको व्यवस्था गर्ने गरी प्रवेशको पहल पनि जारी छ । तर भारतबाट आउने क्रम जारी भएपछि कोरोना संक्रमणको उच्च जोखिम बढेको आशंका गर्न सकिन्छ । भारतबाट फर्किनेहरू क्वारेन्टाइनमा नबस्ने, अटेर गर्ने, गाउँमा गएर जुवा तास खेलिदिने जस्ता गतिविधिले झनै संक्रमणको उच्च जोखिम बढेको अभाष हुन्छ । । सरकारले कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने निर्देशन जारी गरेको छ। तर निर्देशन पालन कि भईरहेको छैन । सरकारको निर्देशनलाई पालन नगर्नेलाई के हुने ? सरकारको कार्ययोजना के हो ? आदी तर्फ ध्यान दिन जरुरी देखिन्छ ।
यस्तो महामारीको बेला अस्पतालमा एउटा एपरोनको भरमा स्वास्थ्यकर्मीहरु रातदिन डिउटीमा खटिएका छन् । पुलिस प्रसाशन सुरक्षाकमीहरु कपडाको मास्कको भरमा १४ घण्टा डिउटी दिन बाध्य छन् । के उनीहरुको जीवन रक्षाकोलागि सरकार सोच्नु पर्दैन ? यो बेला त हरेक सुरक्षाकर्मी, हरेक स्वास्थ्यकर्मी शीरदेखि पैतला सम्म कोरोना प्रतिरोधात्मक कपडा लगाएर डिउटी दिने हो । अनि मात्रै जनता आफूपनि सुरक्षित भएको महशुस गर्न सक्थे । सरकारले यस्तो योजना छिट्टै लागु गरिदिए नेपाली जनता उसैपनि कोरोना यूद्धबाट विजय प्राप्त गर्ने सहासी बन्थे । त्यसले सरकार फेरी पनि मेरो प्रश्न ! के हामी सुदूरपश्चिमबासी साँच्चिकै सुरक्षित छौं त ?













