सुदूरपश्चिम प्रदेशमा तीन ठाउँ प्रयोगशाला स्थापना गर्ने सरकारको निर्णय

धनगढी, १५ चैत । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा आज बसेको मन्त्री परिषदको आपतकालीन बैठकले कोरोनाको रोकथाम र नियन्त्रणका लागि प्रदेशमा तीन ठाउँ प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको छ । सरकारले कोरोना भाईरस जोखिम नियन्त्रण उपचार तथा व्यवस्थापन कोषमा ४० करोड रुपैया राख्ने निर्णय गरेको छ ।

उक्त कोषमा रकम जम्मा गर्न आमसंघसंस्था, व्यवसायी र सर्वसाधारणलाई सरकारले अपिल समेत गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले सेती प्रादेशिक अस्पतालमा कैलाली र कञ्चनपुरका संक्रमितको थ्रोट स्वावको नमूना परीक्षणका लागि सुबिधा सम्पन्न प्रयोगशाला यथाशिघ्र स्थापना गर्ने निर्णय गरिएको बताए ।

मन्त्री बोहराका अनुसार मन्त्री परिषदको बैठकले डोटीमा अछाम र बाजुरालाई लक्षित गरी र बैतडीमा बैतडीसंगै बझाङ, र दार्चुलालाई लक्षित गरी कोरोनाका आशंका गरिएका व्यक्तिको थ्रोट स्वाव परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको छ । तीनै ठाउँको प्रयोगशालालाई तत्काल सञ्चालनमा ल्याउने सरकारको योजना रहेको छ ।