लकडाउनको अवधि बढाएर २१ दिन पुर्‍याउने विज्ञको सुझाव

काठमाडौँ, १५ चैत । सरकारले लकडाउनको अवधि बढाउने तयारी गरेको छ । नेपालमा पाँचौ संक्रमित भेटिएसँगै सरकारले यो तयारी गरेको हो । शनिबार मात्र बागलुङकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टी भएको छ । उनी कतार एयरलाइन्सको विमानमार्फत बेल्जियमबाट नेपाल आएकी थिइन् ।

एक हप्ताको लागि घोषणा गरिएको लकडाउनको समय अवधि बढाउने सरकारले अन्तिम तयारी थालेको छ । हवाई र स्थलमार्ग हुँदै नेपाल भित्रिएका व्यक्तिहरुलाई अन्तिम रिपोर्ट नआएकोले लकडाउनको अवधि बढाउन लागेको बताइएको छ । गृहमन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई लकडाउनक समय अवधि बढ्ने संकेत गर्दै तयारी गर्न निर्देशन दिइसकेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणसम्वन्धी उच्चस्तरीय समन्वय समितिको शनिबारको बैठकले भन्सारसम्म पुगेका दैनिक उपभोग्य बस्तुलगायत अत्यावश्यकीय बस्तुलाई बजारसम्म पुर्याउन दिने निर्णय गरिसकेको छ ।

विश्वभर तीब्र गतिमा फैलिरहेको कोरोनाभाइरस रोकथाम र नियन्त्रणको लागि सरकराले चैत ११ गतेदेखि १८ गते बिहानसम्मलाई लकडाउनको घोषणा गरेको थियो ।

नयाँ नयाँ विरामी थपिन थालेपछि चिकित्सक तथा विज्ञहरुले लकडाउनको अवघि २१ दिन पुरर्याउनु पर्ने सुझाव दिएका छन् । उनीहरुले कोरोना संक्रमित भेटिदै गएको र अन्तिम रिपोर्ट आइनसकेको अवस्थामा लकडाउन खोल्दा घातक हुने समेत चेतावनी दिएका छन् ।