कैलारी गापाद्वारा क्वारेन्टाईन स्थापना, नाकामा सुरक्षा व्यवस्था कडाई

धनगढी, १२ चैत । कैलारी गाउँपालिकाले विश्वभर महामारीको रुपमा फौलिदै गईरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्ना तथा रोकथाम, नियन्त्रणका लागि तीन ठाउँमा क्वारेन्टाईन स्थापना गरेको छ ।

गाउँपालिकाके निर्णय अनुसार गाउँपालिका भित्रका कोही व्यक्तिलाई कोरोनाको शंका लागेमा अर्थात लक्षण देखिएमा सो व्यक्तिको पुरै परिवारलाई खाने बस्ने सहितको व्यवस्था हुने गरि क्वारेन्टाईन राख्ने गापा अध्यक्ष लाजुराम चौधरीले जानकारी दिए ।

उनले भने ‘गाउँपालिकाले सर्वोदय अधारभूत विद्यालय बैसपुर, गाउँपालिकाको साझा हल र दीपेन्द्र माविमा क्वारेन्टाईनको व्यवस्था गरेको छ ।’ साथै विरामी बोक्नकोलागि एउटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको अध्यक्ष चौधरीले बताए ।

क्वारेन्टाईनमा राखिएहरुलाई खानेपानी, खाना, सिनिट्राइजर, साबुन पानीको व्यवस्था गाउँपालिकाले गर्ने निर्णय भएको छ ।

त्यसै गरी कैलारी गाउँपालिका स्थित चन्दन चौकी नाकामा सुरक्षा व्यवस्थामा कडाई गरेको छ । खुल्ला सीमा नाका भएकोले नाका बन्द गरेको घोषणा गरेपनि सो नाकाबाट केही व्यक्तिहरु दुध पुर्याउने नाममा बोइलर कुखुरा भित्रियाउन थाले पछि सुरक्षा व्यवस्थामा कडाई गरेको अध्यक्ष चौधरीले बताए । उनका अनुसार उक्त नाकामा २४ घण्टा प्रहरीको टोली खटाइएको छ ।