गौरीफन्टा नाकामा तनाव

कैलाली, ११ चैत । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा जोखिम कम गर्नको लागि सरकारले मंगलबार बिहान ६ बजेदेखि नै देशैभर लक डाउन गरेको छ । आवत जावत र हिडडुलमा पूर्णरुपले कडाई गरेको छ । यसैबीच कैलालीको गौरीफन्टास्थित नेपाल-भारत नाका सम्म पुगेका नेपालीहरु देश भित्रिन नपाएपछि तनाव सिर्जना भएको छ ।

मंगलबार बिहान करिब ५ सयको संख्यामा भारतमा रहेका नेपालीहरु नेपाल प्रवेश गर्ने प्रयास गरेपछि स्थिति असहज बनेको हो।

कामका शिलशिलामा भारतका विभिन्न ठाउँमा रहेका नेपालीहरु घर फर्कन मंगलबार बिहानै नाकामा जम्मा भएका थिए । उनीहरुलाई सीमामा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले नेपाल प्रवेशमा रोक लगाएपछि स्थिति तनावमा परिणत भयो ।

                                                                 फोटोः पत्रकार शिवराज भट्टको फेसबुकबाट

उनीहरुले नेपाल छिर्न दिनुपर्ने माग गर्दै नारा जुलुस गर्दै प्रहरीमाथि ढुंगामुढासमेत गरे । मोहना खोलामा हामफालेर नेपालतर्फ तर्ने प्रयास पनि गरे । तर प्रहरीले उनीहरुलाई प्रवेश गर्न दिएन।

अहिले उनीहरु कञ्चनपुरको डोकेबजारस्थित नेपालतर्फको दशगजा क्षेत्रमा प्रवेश गरेका छन् । सशस्त्र प्रहरीका डिएसीपी भीमबहादुर चन्दको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई घेरा हालेर राखेको छ। उनीहरुलाई कुन-कुन जिल्ला को हो भनी सूची बनाउन प्रहरीले आग्रह गरेको छ । को कुन जिल्लाको हो सम्बन्धित जिल्लाका अधिकारीसँग समन्वय गरी फर्केने व्यवस्था गरिने भन्दै प्रहरीले माइकिङ गरेको छ । प्रहरीले खानेकुराको व्यवस्था पनि गर्ने बताएको छ।