लकडाउनका कारण गौरीफन्टा सीमा नाकामा सयौँ नेपाली अलपत्र
धनगढी, ११ चैत । देशभरी पूर्ण रुपमा लकडाउन गरिएको अवस्थामा भारतको विभिन्न ठाउँबाट नेपाल आउने सयौँ नेपालीहरु गौरीफन्टा सीमानाका पुगेर अलपत्र परेका छन्।
उनीहरुले नेपाल प्रवेशको अनुमती पाएका छैनन् । सीमा क्षेत्रमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई दशगजामै रोक्न सकस भईरहेको छ।
यता स्थानीय प्रशासनले भने उनीहरुलाई प्रवेश गराउनका लागि गृह मन्त्रालयको आदेश पर्खिरहेको जनाएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले गृहसंग समन्वय भईरहेको बताउँदै अलपत्र नेपालीलाई गन्तव्यमा पुगाउन पहल भईरहेको जानकारी दिए।
‘सोमवार साँझ सम्म नाकामा पुगेका सबैलाई नेपाल प्रवेशको अनुमती भएपनि राती समेत आउने क्रम जारी भएकाले उनीहरुलाई अहिले सीमा क्षेत्रमै रोकेका छौं। उनीहरुलाई प्रवेश अनुमती दिने वा नदिने विषयमा कुनै निर्णय हुन सकेको छैन्। उनीहरुलाई गन्तव्य सम्म पुर्याउने पहल गरिरहेका छौ।’ सशस्त्र प्रहरीले माईकिङ गर्दै सीमामा पुगेका नेपालीहरुसंग जिल्लागत विवरण मागेको छ।













