गैर कानुनी रुपमा मास्कको कारोवार गर्ने ललनलाई कार्वाही
धनगढी , १० चैत । धनगढी अस्पताल लाईनका आर.बि. पुजा स्टोरका प्रोप्राईटर ललन गुप्ता गैर कानुनी रुपमा मास्कको कारोवार गरेको आरोपमा कार्वाहीमा परेका छन् ।
उनले बिल बिनाका मास्कको कारोवार गरेको फेला परेपछि सोमबार धनगढी उपमहानगरपालिका, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त अनुगमन टोलीले २० हजार जरीमाना गरेको हो ।
बिल विजक जारी नगरी तरकारी बेचे झै मास्क बेचेको पाइएकाले उनलाई जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका निमित्त प्रमुख कमल बहादुर पुन मगरले बताए ।
उनले भने, ललनलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ ( घ) को कसुरमा सोही ऐनको दफा ३९ को १ ( क) अनुसार कार्वाही गरिएको हो ।













