कोरोना कहर : सचेतनाका लागि भलमन्सा परिचालन
धनगढी, ९ चैत । कैलारी गाउँपालिका–७ नम्बर वडाको कार्यालयले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि गाउँघरमा सचेनात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
वडा अध्यक्ष कमलप्रसाद चौधरीको अध्यक्षतामा आइतबार बसेको बैठकले गाउँमा सचेनात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । जनचेतनामूलक कार्यक्रम सञ्चालनका लागि हरेक गाउँका भलमन्सा र वडामा रहेको विपद् प्रतिकार्य दलका स्वयम् सेवकलाई परिचालन गर्ने निर्णय गरेको जनाइएको छ ।
उनीहरुले स्वास्थ्य चौकीको समन्वयमा गाउँ–गाउँ पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष चौधरीले बताए ।
सो वडामा बड्का बसन्ता, छटकपुर बसन्ता, तिघरी, भुईयाँफाँटा, रामपुर, नारायणपुर, विपतपुर, रतनपुर, शिवपुर र हौसलपुर गाउँ पर्दछन् ।
यसैगरी, भीडभाड हुने किसिमको कुनै पनि सभा, सम्मेलन, कार्यक्रम नगर्ने पनि निर्णय गरिएको छ । कैलारी गाउँपालिकाले आफ्नो क्षेत्रमा सीमा नाका पूर्ण रुपमा बन्द गरेको छ । यसलाई अझ कडाई गर्नका लागि गाउँका भलमन्सालाई पनि जिम्मेवारी दिइएको छ । ‘कुनै पनि गाउँका कसैलाई भारत जान नदिनका लागि गाउँमा कडाई गर्न भलमन्साहरुलाई आग्रह गरेका छौं’, अध्यक्ष चौधरीले उनले भने ।
हौसलपुर र शिवरत्नपुर मोहना नदी पारिको गाउँ हो । हौसलपुर भारतको बेलापरसुवा र शिवरत्नपुर भारतीय बजार चन्दन चौकी नजिकै पर्दछन् । उनीहरुलाई सचेत रहन अध्यक्ष चौधरीको आग्रह छ ।













