घोडाघोडी नगरपालिकाद्धारा कोरोना सुरक्षा तथा परामर्श केन्द्र स्थापना

धनगढी, ९ चैत्र । कोरोना संक्रमणमा परेकाहरुको रोकथाम तथा नियन्त्रणका लागि घोडाघोडी नगरपालिकाले आज साँझदेखि सञ्चालन हुने गरी कोरोना सुरक्षा तथा परामर्श केन्द्र स्थापना (आइसोलेसन) वार्डको तयारी गरिरहेको छ ।

शनिबार घोडाघोडी नगरपालिकाको कार्यालयमा नगर प्रमुख ममता प्रसाद चौधरीको अध्यक्षतामा बसेको आकस्मिक कार्यपालिकाको बैठकले आइतबार साझबाटै संचालनमा ल्याउने गरि १३ बेडको कोरोना सुरक्षा तथा परामर्श केन्द्र स्थापना (आइसोलेसन) वार्ड तयार गर्ने निर्णय गरेको नगरपालिका प्रमुख ममता प्रसाद चौधरीले बताए ।

नगरपालिकामा हुन सक्ने सम्भावित जोखिमबाट रोकथाम तथा नियन्त्रणका लागि कार्यपालिका तथा विपद व्यवस्थापन समितिको आकस्मिक बैठक बसेर घोडाघोडी नगरपालिका १ सुखडमा रहेको पुरानो भिजन हस्पिटलको खाली रहेको भवनमा १३ बेडको आइसोलेसन वार्डको रुपमा संचालन गर्न लागेको घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहले जानकारी दिए ।

कोरोनाको जोखिमबाट बच्ना तथा नियन्त्रणका लागि बसेको आकस्मिक बैठकले घोडाघोडी अस्पतालसंग समन्वय गरि जनचेतनामूलक सन्देश प्रचारप्रसार गर्ने, कोरोना भाइरस बाट सुरक्षित रहन साबुनपानीले हात धुने तथा स्वयं सरसफाइमा सचेत रहनको लागि नगरपालिकाले बढी आवतजावत हुने विभिन्न ठाउँमा हात धुने ठाउँ निर्माण गर्ने, कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नको लागि नगर प्रमुखको संयोजकत्वमा समन्वय समिती गठन लगायतका निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

आईसोलेसनको लागि प्राविधिक एवं अन्य परामर्शका लागि घोडाघोडी अस्पताल तथा नगरका स्वास्थ्य कर्मचारीहरु परिचालन गरिने नगर प्रमुख चौधरीले जानकारी दिए ।

उनले हाल छनौट गरिएको स्थान उपयुक्त एवं पर्याप्त भएको हुँदा एकै स्थानबाट आईसोलेसन वार्ड तथा क्वारेन्टाईन समेत सञ्चालन गर्ने गरि व्यवस्थापनको तयारी गरिएको बताए । नगरपालिकाले पहलमान, सुख्खड, साँडेपानी, डोके बजार, सिम्तरी चोक र नगरपालिकाको प्रांगनमा हात धुनाकोलागि २४ औं घण्टा साबुन पानीको व्यवस्था गरिरहेको छ । साथै नगर भित्रका सबै स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य केन्द्रमा पनि साबुन पानीको अनिवार्य व्यवस्था गर्न नगर प्रमुखले निर्देशन छ ।